तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा कर नतिर्ने ९८ जना उद्योगी व्यवसायीको घर जग्गा र बैंक खाता रोक्का

बीरगंज –उद्योग व्यवसाय सञ्चालन गरी राजस्व नतिर्ने उद्योगी व्यवसायीप्रति आन्तरिक राजस्व कार्यालय वीरगंज कडा रुपमा प्रस्तुत भएको छ ।

आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०७५/०७६ मा कर नतिरेका वीरगन्जका ९८ जना उद्योगी व्यवसायीहरुको घर–जग्गा र बैंक खाता रोक्का गरेको छ ।

वीरगन्जका विभिन्न उद्योगका सञ्चालक, निर्माण व्यवसायी, ट्रेडिङ कारोबार, ज्वाइन्ट भेन्चर, सप्लार्यस ईट्टा व्यवसायी लगायतका फर्महरुले कर नतिरेपछि घर–जग्गा र बैंक खाता रोक्का गरिएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपीकृष्ण कोईरालाले बताउनुभयो ।

९८ जना करदाताको करिब २५÷२६ करोड बक्यौता रहेकामा कर तिर्नको लागि पटक पटक सूचना र ताकेता गर्दा पनि अटेरी गरेकाले उनीहरुको घरजग्गा तथा बैक खाता रोक्का गरिएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत कोईरालाले बताउनुभयो ।

कारवाहीमा परेका उद्योगी व्यवसायीहरुको तीन पुस्ते नामावली सहित नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न र पर्सा बाराका मालपोत कार्यालयलाई घरजग्गा रोक्का गर्न बैंक तथा मालपोतलाई परिपत्र गरिएको कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालयले कारवाहीमा परेका करदाताहरुको आयात निर्यात रोक्का गर्न वीरगंज भन्सारकार्यालय तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई समेत पत्राचार गरेको छ ।

यसैगरी आन्तरिक राजस्व कार्यालय वीरगन्जले वीरगंज महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकालाई कर नतिर्ने  निर्माण व्यवसायीहरुको कुनै पनि कामको भुक्तानी नगरी रोक्का राख्न निर्देशन सहितको पत्राचार गरेको छ ।

कर नतिर्ने करदाताको घरजग्गा, बैंक खाता लगायत कारोबारमा रोक लगाएपछि अहिले २० जना उद्योगी व्यवसायीले कर चुक्ता गर्न सम्पर्कमा आएको कर अधिकृत देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button