तपाईँ सुन्दै हुनुहुन्छः

माडी नगरपालिकाले ३० लाखको लागतमा आफ्नै क्रसर उद्योग खोल्यो

प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो । उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा उत्पादन हुने ढकालले बताउनुभयो ।

एक हप्ताको परीक्षण अवधिपछि क्रसर नियमितरूपमा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । हाल परीक्षणमा रहेको क्रसरमा नगरपालिकाले स्थानीय मगईखोलाको गिट्टी–बालुवा प्रयोग गर्नेछ । यससँगै अन्य खोलाको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी, बालुवा निकालिने उहाँले बताउनुभयो ।

ढकालका अनुसार प्रतिघण्टा २४ घनमिटर क्रसरको क्षमता रहेको छ । नगरपालिकाका विकास निर्माणका कामबाहेक स्थानीय र ठेकेदारलाई समेत यो उत्पादनले पुग्ने उहाँले जानकारी दिनुभयो । ढकालको अनुमानमा नगरपालिकालाई पुगेर पनि वार्षिक रु १० करोडभन्दा बढीको सामग्री बिक्री गर्न सकिनेछ ।

अत्यधिक दोहन नहुने गरी व्यवस्थित किसिमले खोलाको सतह गहिरिने गरी गिट्टी–बालुवाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ । माडी नगरपालिकाले चालू आव २०७६÷७७ मा १८ किमीभन्दा बढी सडक कालोपत्र गर्दैछ । यो आवमा १० भन्दा बढी कल्भर्ट, नहर र पुललगायतका संरचना बन्ने नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button