तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्रीका लागि होइन, परिवर्तनका लागि लागेको थिएँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको तर आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गर्नुभएको छ ।

नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरुको जीवनी चरित्रमा आधारित प्रा केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गर्नुभयो ।

“देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नोबारेमा केही पनि परिकल्पना थिएन ।” उहाँले भन्नुभयो, “त्यसबेला भोकै हिँड्ने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पथ्र्यो । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महीनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।” उहाँले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकामा धन्यवाद दिनुभयो ।

झापा विद्रोहकालदेखि राजनीतिमा लाग्नुभएको प्रा खुम्बु हाल प्राज्ञिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । पुस्तकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र उहाँका सहकर्मीहरु युवा उमेरमा रहँदा भूमिगतकालमा कसरी राजनीतिमा सक्रिय हुनुभएको थियो भन्नेबारेमा समेत चर्चा गरिएको छ । समालोचक डा जङ्गब चौहानले पुस्तक एक राजनीतिक दस्तावेज र इतिहासको साक्षी सावित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button