तपाईँ सुन्दै हुनुहुन्छः

धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

बागलुङ। आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् ।

दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।

“बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीवासीले पनि शिविरबाट लाभ लिनेछन्”, उहाँले भन्नुभयो, “दक्ष र अनुभवी चिकित्सकबाटस्तरीय सेवा प्रदान गर्दैछौँ ।” शिविरमा दन्त, आँखा, मुटु, हाडजोर्नी, नाक, कान, घाँटी र स्त्री रोगसम्बन्धी रोगका बिरामीको निःशुल्क जाँच तथा उपचार गरिनेछ ।

शिविरका लागि ताइवानबाट विशेषज्ञसहित ३५ जनाभन्दा बढी स्वास्थ्यकर्मी बागलुङ आउने भएका छन् । शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ र पोखराका विशेषज्ञ चिकित्सकले पनि ताइवानीसँग मिलेर सेवा प्रदान गर्नेछन् । शिविरमा एक सय बढी स्वास्थ्यकर्मी र २५० जना स्वयंसेवक परिचालन हुने भएका छन् ।

शिविर सञ्चालनमा रु सात लाख खर्च हुने अनुमान गरिएको रोटरी क्लब बागलुङका अध्यक्ष ओमप्रकाश पौडेलले बताउनुभयो । “विभिन्न कारणले उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

शल्यक्रिया र थप उपचार गर्नुपर्ने बिरामीका लागि पनि निःशुल्क सेवाका लागि सहजीकरण गरिने आयोजकले जनाएका छन् । रोटरी क्लबकै विशेष पहलमा ताइवानका चिकित्सक शिविरका लागि बागलुङ आउन लागेका हुन् । ताइवानका चिकित्सकले शिविरमा सेवाका अतिरिक्त केही स्वास्थ्य उपकरणसमेत अस्पताललाई उपलब्ध गराउने भएका छन् । शिविरले धवलागिरि अञ्चल अस्पतालको सेवाप्रति सर्वसाधारणको विश्वास बढ्ने ठानिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button