तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एकको मृत्यु, खोलामा खसेर एक जना बेपत्ता

म्याग्दी ।  म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् ।

बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिनुभयो । बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो ।

निलगिरि र रेलेखोलाको दोभानको जङ्गलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका हुन् । मिस्त्रीखोलामा काठको फड्के हालेर जङ्गलतर्फ जाने क्रममा गर्बुजा खोलामा खसेर बेपत्ता भएका जिसस सदस्य मेखबहादुर गर्बुजाले बताउनुभयो ।

खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत् आयोजनाको सहयोगमा राति उद्धार गरिएको जिसस सदस्य गर्बुजाले बताउनुभयो ।

बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदूर हुन । उनको खोजी जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button