तपाईँ सुन्दै हुनुहुन्छः

झिसमिसे मै स्कुल, साँझ मात्रै घरः प्लस टुसम्म निःशुल्क शिक्षा

मेलम्ची – बिहान झिसमिसे देखि साँझसम्म पनि स्कुलमै हुन्छन् बिद्यार्थी । त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित महेन्द्रप्रताप माध्यमिक बिद्यालयमा कक्षा ९ र १० मा पढ्ने बिद्यार्थीका दैनिकी फेरिएको छ । बिहान ६ बजे किताब बोकेर स्कुल आएपछि साँझ ६ बजेपछि मात्रै घर फर्कन्छन् ।

शैक्षिक गूणस्तर सुधारका लागि त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित महेन्द्र प्रताप माध्यमिक विद्यालयमा दैनिक १२ घण्टा कक्षा सञ्चालन सुरु गरिएको छ ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने उदेश्यले माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीका लागि दैनिक १२ घण्टा कक्षा संचालन गर्न थालिएको वडा शिक्षा समितिका संयोजक एवम वडाध्यक्ष शुकदेव रिसालले बताउनुभयो ।

वडाको अग्रसरतामा दैनिक १२ घण्टाको कक्षा संचालन हुन थालेपछि अभिभावकहरुमा पनि खुसियाली छाएको छ । बिद्यार्थीहरुमा पनि उत्तिकै खुसियाली छ । बिहानै खाना पकाएर अभिभावकहरुले किताब, कपीका झोलासँगै टीफीन बक्समा खाना पठाउँने गरेका छन् ।

‘अभिभावकलाई आफ्ना बालबच्चाको पढाई उत्कृष्ट होस भन्ने छ, हामीलाई पनि यो बिद्यालयलाई नमूना बिद्यालयका रुपमा विकास गर्ने ठूलो चाहना छ’, वडाध्यक्ष रिसालले भन्नुभयो, ‘अभिभावक, बिद्यार्थी र हाम्रो चाहना मिलेपछि माध्यमिक तहमा दैनिक १२ घण्टाको पढाई सुरु गरेका हौं ।’ साँझ बिहानको थप सेवा बापत शिक्षकका लागि वडातहबाटै थप सुविधा दिईने बताइएको छ ।

प्लस टूमा निशुल्क पढाई
महेन्द्रप्रताप माध्यमिक बिद्यालयमा अब प्लस टु मा निशुल्क पढाई हुने भएको छ । आगामी शैक्षिक सत्रबाट यस बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीका लागि कुनैपनि शुल्क लाग्नेछैन । नेपालको संविधानले माध्यमिक तह(कक्षा १२ ) सम्म निशुल्क शिक्षाको व्यवस्था गरेअनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको ३ नम्बर वडाबाट आफुहरुले निशुल्क शिक्षाको सुरुवात गर्न लागेको वडाध्यक्ष रिसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button