तपाईँ सुन्दै हुनुहुन्छः

‘काम गर्न सहज हुदैँ गएको छ’   

काठमाडौँ – विभिन्न प्रदेशका प्रदेश सभाका उपसभामुखहरुले प्रदेश सभामा काम गर्न सहज हुँदै गएको बताउनुभएको छ ।

संसद सचिवालयमा आज पत्रकारसँग भेटघाट कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाय तुम्वाहाङफेले संघीय संसद र प्रदेश सभामा सभामुख र उपसभामुखले गर्ने कामकारवाहीहरुलाई अझै सहज बनाउन छलफल र बहसलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उपसभामुख डा. तुम्वाहाङफेले संघीय संसद र प्रदेश सभादेखि धेरै ठाउँमा उप प्रमुखको पदमा महिला भएको भन्दै आफ्नो भुमिकालाई अझै प्रभावकारी बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले महिला सांसदको अवाज अझै बाहिर आउन नसकेकाले महिला सांसदहरुको क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशीले प्रदेशसभा नयाँ अभ्यास भएकाले शुरुवाती चरणमा काम गर्न अन्योल जस्तो भएपनि संविधान र नियमावली अनुसार काम गर्न सहज वातावरण बन्दै गएको बताउनुभयो ।

कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले प्रदेश सभाका काम कारवाही सहज बन्दै गएको र सभामुखसँग मिलेर सहज रुपमा सभा सञ्चालन र कानुन निर्माण लगायतका काममा आफु लागिरहेको बताउनुभयो ।

प्रदेश नम्बर दुईका उपसभामुख उपमा देवले उपसभामुखका रुपमा आफुले सहज रुपमा जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button