तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

सिरहा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो ।

दैनिक हजारांै सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । असार–साउन महीनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै दुई महीना बिते पनि टालटुलसमेत हुन सकेका छैन् ।

विशेषगरी पूर्वमा मिर्चैयाको मटिअर्वा चोकदेखि पश्चिममा सल्हेश चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको मटियर्वा चोक, थाना चोक, कटारी चोक र पश्चिम बस पार्क रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेका छन् ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हँुदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेका छन् । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेका छन् । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

यता मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले सडकको दुर्दशाप्रति आफू पनि चिन्तित रहेको बताउनुभयो । उहाँले सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै यो समस्या चाडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच चाडपर्व नजिकिएसँगै सिरहामा विस्फोटक पदार्थ पटका भित्रिने क्रम बढ्ेको छ । यसै क्रममा सिरहा प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट आज बिहान ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका– ७ स्थित सीमावर्ती क्षेत्रबाट करीब रु एक लाख मूल्य बराबरको पटाका, चिरचिरीलगायतका विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बरामद गरिएका विस्फोटक पदार्थ सरोकारबालाको रोहबरमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट रु डेढ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button