तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन वर्षलाई सघाउन पालिकामा उपसमिति

बागलुङ । गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष (सन् २०१९–२०२२) सफल पार्न जिल्लाका स्थानीय तहमा उपसमिति गठन गरिएको छ । जिल्लास्तरीय समन्वय उपसमितिका अनुसार बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा उपसमिति गठन भइसकेको छ ।
तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा आजभोलिमै उपसमिति गठन गर्ने तयारी छ । पालिकास्तरीय उपसमिति स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन गरिएको जिल्लास्तरीय समन्वय उपसमितिका उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका उपप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
उपसमितिमा स्थानीय तहका उपप्रमुख उपाध्यक्ष, सदस्यमा कार्यपालिकाका सदस्य तीन, पर्यटन व्यवसायी÷विज्ञबाट तीन जना सदस्य रहने व्यवस्था छ । यस्तै, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत उपसमितिको सदस्यसचिव रहने जिल्लास्तरीय समन्वय उपसमितिका उपाध्यक्ष भुसासले जानकारी दिनुभयो ।

पालिकास्तरको उपसमितिले स्थानीय तहमा पर्यटन वर्षको कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वयको काम गर्नेछ । “स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण, प्रवद्र्धन, प्रचारप्रसारलगायतका काममा सघाउन उपसमिति गठन गरिएको हो”, जिल्लास्तरीय समन्वय उपसमितिका उपाध्यक्ष भुसालले भन्नुभयो ।

सन् २०२२ मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ प्रदेश सरकारले पर्यटन प्रवद्र्धनको काम अघि बढाएको छ । गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको छ । यस्तै, सन् २०२० लाई छिमेकी मुलुकका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तरराष्ट्रिय पर्यटन वर्ष घोषणा गरेको छ ।

भ्रमण वर्ष सफल पार्न गएको भदौ २१ गते जिल्लास्तरीय समन्वय उपसमिति गठन भएको थियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उपसमिति घोषणा गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा गठिन जिल्लास्तरीय समन्वय उपसमितिले जिल्लामा पर्यटन प्रवद्र्धनका काम अघि बढाएको छ ।

पर्यटन वर्ष सफल पार्न मन्त्री लम्सालको अध्यक्षतामा १५१ सदस्यीय मूल आयोजक समिति यसअघि नै गठन भइसकेको छ । समितिमा नीति तथा योजना आयोग, मन्त्रालयका सचिव, गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायीलगायत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button