तपाईँ सुन्दै हुनुहुन्छः

गोदाममै थन्कियो कर्णालीको तिते फापर

सुर्खेत । वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर ।

संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाइँमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म सिमी सात क्विन्टल र तिते फापर पाँच केजी बिक्री भएको जानकारी दिनुभयो ।

संस्थानको सुर्खेत गोदाममा ८२ क्विन्टल तिते फापर थन्किएको छ । यो मधुमेह र उच्च रक्तचापका बिरामीका लागि लाभदायक मानिन्छ । संस्थानले वर्षेनि कर्णालीका हिमाली जिल्लाबाट सिमी, फापरलगायत रैथाने उत्पादन खरीद गरेर शहरी क्षेत्रमा बिक्री गर्दै आएको छ ।

संस्थानको सुर्खेत शाखा कार्यालयले कालीकोट, जुम्ला र मुगुबाट तिते फापर र सिमी खरीद गरेको हो । डोल्पा र हुम्लामा सडक पहुँच नहँुदा यसपटक ती जिल्लाबाट रैथाने उत्पादन खरीद गर्न नसकिएकोे संस्थानका शाखा प्रबन्धक थापाले बताउनुभयो ।

सुपथ पसलबाट सिमी प्रतिकेजी रु १२० र तिते फापर रु ७० मा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button