तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानी प्रधानमन्त्रीद्वारा अमेरिकी सांसदलाई काश्मिरबारे ‘व्रिफिङ’

न्युयोर्क-  न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराउनुभएको छ । भारतले काश्मिर बिषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले काश्मिरमाथि भारतले अन्याय र अत्याचार गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा अमेरिकी सिनेटको विपक्षी दलका नेता चक स्कुमर र सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्डसी ग्राहम पनि सहभागी हुनुभएको थियो ।

न्युयोर्क पुगेको दोस्रो दिन उहाँले सांसद र संसदका नेताहरुलाई काश्मिर मामिलामा आफ्नो धारणा राख्नुभएको हो ।

पछिल्लो समय आर्थिक सङ्कटबाट ग्रस्त रहेको देशका प्रधानमन्त्री खानले भारत प्रशासित जम्मु काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा लगिएकोमा शुरुदेखि नै आपत्ति जनाउदै आउनुभएको छ ।

भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु र काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा ल्याएको घोषणा गरेको थियो ।

भारतको सो घोषणाका विरुद्धमा पाकिस्तानमा देशव्यापी प्रदर्शनको आयोजना गरी पाकिस्तानी प्रधानमन्त्री खानले काश्मिर मामिलालाई राष्ट्रसंघको महासभामा उठाएर विश्वको ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।

उहाँले महासभा भन्दा बाहिर भेटवार्ता गरेका अधिकांश नेतासँग काश्मिर मामिलाका बारेमा ध्यानाकर्षण गरेको बताइएको छ ।

अर्को तर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि महासभाका लागि न्युयोर्कमा नै आइपुग्नुभएको छ । उहाँले भारत र अमेरिकाको सम्बन्धलाई थप बलियो बनाउने प्रयासलाई जारी राख्नु भएको छ ।

प्रधानमन्त्री मोदीले न्युयोर्क आइपुगेको पहिलो दिन नै उर्जा क्षेत्रका अगुवाहरूसँग लगानी र सहकार्यका बारेमा छलफल गर्नुभएको थियो ।

विश्वको छाता संस्थाको रूपमा रहेको राष्ट्रसंघको महासभामा सहभागी हुन अधिकांश देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु अहिले न्युयोर्कमा भेला भएका छन् ।
रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button