२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

महिनावारी हुँदा शिक्षिका नै कक्षा छिर्दैनन्

सागर परियार २०७६ असोज ६ गते १६:३१

जुम्ला – तातोपानी गाउँपालिका ८ बारागाउँकी १८ वर्षीय मुगा रावत कक्षा ७ मा पढ्छन् । गाँउकै जनजागृत आधारभूत विद्यालयमा पढ्ने मुगा रावत असोज ५ गते महिनावारी भएकी रहिछन् । रिर्पोटिङको सिलसिलामा उक्त विद्यालयमा पुग्दा मुगा रावत लगायत करिब ८ जना विद्यार्थी विद्यालयको गेट नजिकको कुनामा बसेका थिए ।

ती मध्ये ४ जना छात्रा थिए भने बाँकी छात्रहरु थिए । भित्र नगएर प्रचण्ड गर्मीमा किन बाहिर बसेर पढिरहेको भन्ने प्रश्नमा मुगा रावतले भनिन्, ‘महिनावारी भएकी छु । कक्षा भित्र जान हुन्न देवता रिसाउँछन्, विद्या हराउँछ विरामी पर्छु । त्यसैले स्कुलको गेट छेउभन्दा भित्र जान मिल्दैन ।’ महिनावारी भएको कम्तीमा पाँच दिन नहुञ्जेल कक्षा भित्र नछिर्ने गरेको उनले बताइन् ।

विद्यालय परिसरमै विभिन्न देवताहरुको मन्दिर रहेका छन् । दुई वर्षपहिले पहिला महिनावारी भएर स्कुल आउने छात्राहरु विरामी हुँदा धामी झाँक्रीले विद्यालयमा महिनावारी हुँदा (जुठोपिठो) भई देवता रिसाएको भनेपछि त्यहाँका किशोरीहरु मानसिक रुपमै छाउपढी प्रथाको शिकार भईरहेका छन् ।

मुगासँगै खुल्ला चौरको टण्टलापुर घाममा बसिरहेका हासकुरा रावत, अनिसा रावत र अञ्जली रावतले पनि आफुहरु महिनावारी हुँदा कतिपय अवस्थामा विद्यालय नआउने र आएपनि कक्षामा नछिर्ने बताईन् । हाँसकुरा रावतका अनुसार, कति पटक त बाहिर बसेको बेला पानी पेरेर बीचमै पढाई छोडी घर जानु परेको छ । हप्ता दिनभित्र कुनै न कुनै एकजना छात्रा महिनावारी हुन्छन् । महिनावारी भएर विद्यालय आएपछि गेट भन्दा पर जादैनन । साथी एक्लै बाहिर बसेको देख्दा सबै विद्यार्थी चौरमै बसेर पढ्छन् ।

विद्यालय परिसरमै विभिन्न देवताहरुको मन्दिर रहेका छन् । दुई वर्षपहिले पहिला महिनावारी भएर स्कुल आउने छात्राहरु (रेश्मा रावत, पदमकली रावत र रिसिमा रावत) विरामी हुँदा धामी झाँक्रीले विद्यालयमा महिनावारी हुँदा (जुठोपिठो) भई देवता रिसाएको भनेपछि त्यहाँका किशोरीहरु मानसिक रुपमै छाउपढी प्रथाको शिकार भईरहेका छन् ।

शिक्षिका नै कक्षामा छिर्दैनन्
छाउपढी प्रथा एक अन्धविश्वास होे । गोठमा बस्नु हुदैन् । महिनावारी भएपनि विद्यालय जान छुटाउनु हुदैन् । सरसफाईमा ध्यान दिए देवता रिसाउदैनन् भनेर दैनिक कक्षामा पढाउने शिक्षिकाहरु नै महिनावारी हुँदा विद्यालय जादैनन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो जुम्लाको सत्य घटना हो ।

तातोपानी ८ बारागाउँमा रहेको जनजागृती आधारभुत विद्यालयमा ४ जना शिक्षिका छन् । निमित्त प्रधानाध्यापक रहेकी ज्ञानकुमारी शाही महिनावारी हुँदा कक्षा कोठामै छिर्दिनन् । एकपटक विरामी हुँदा उनलाई पनि धामीले महिनावारी हुँदा विद्यालय गएकोले देवता रिसाएका हुन्, अब त्यसो नगर्नु भनेका रहेछन्् । त्यसै दिनदेखि ज्ञानकुमारी शाही मात्र हैन्, अन्य शिक्षिकाहरु तिरुवा चलाउने, गरिमा चलाउने र दिपा रावत पनि महिनावारी हुँदा कक्षामा पढाउन जादैनन् ।

शिक्षिकाहरु नै देवताको त्रासले कक्षामा छिर्दैनन् भने किशोरीहरु कसरी कक्षामा जाउन् ? निमित्त प्रअ ज्ञानकुमारी खत्रीले भनिन, ‘कसैले गल्तीले पनि महिनावारी हुँदा कक्षा कोठामा भएपछि तत्काल खुट्टा नचल्ने, बोली नआउने, पैतला फर्किने, हातगोडा खुम्चने समस्या भएको प्रत्यक्ष देखेका छौ । अनि कसरी पढाउनु?’ वर्षभरीमा शिक्षिका र किशोरीहरु करिब ९९ प्रतिशत दिन बाहिरै बस्छन् भने कतिपय विद्यालय नआउने गरेको पाइएको छ ।

महिनावारी भएर विद्यालय गेटको कुनामै बसेकी छात्राहरु

पाँच दिनसम्म विद्यालय नर्छिर्ने
पहिला महिनावारी हुँदा सात दिनसम्म महिलाहरु गोठमै बस्थे । पछिल्लो समय यस सम्बन्धी चेतनाको विकास हुदै  गएको पाईन्छ । सरकारी तथा गैरसरकारी निकायले छाउपढी न्युनिकरण गर्न करोडौ बजेट खर्च पनि गरेका छन् । तर, जनजागृती विद्यालयमा पढ्ने किशोरी र पढाउने शिक्षिकाहरुको मानसिकता बदल्न सकिएको छैन् । अहिले पनि विद्यालयमै पाँच दिन सम्म महिनावारी बार्ने चलन छ ।

घरमा २/३ दिनको भित्र छिर्ने शिक्षिका तथा किशोरीहरु विद्यालयको कक्षा कोठामा पाँच दिन नभए सम्म छिर्दैनन् । निमित्त प्रअ ज्ञानकुमारी खत्रीले भनिन, जति गरेपनि देवताकै क्रास छ । विद्यालय भन्दा घर सजिलो हुन थालेको छ । सबै मिलेर विद्यालय सार्नुको विकल्प नरहेको उनको भनाई ।

मनोसामाजिक समस्यामा किशोरी
पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय नआउने, आएपनि गेट काटेर कक्षामा नर्छिने जस्ता समस्या दशकौंदेखि आएका यहाँका किशोरीहरुको मानसिकता नै कमजोर भएको छ । कतै लड्दा, अलि पेट वा टाउको दुख्दा होस् वा ज्वरो आउँदा पनि डाक्टर कहाँ भन्दा पहिले धामीलाई देखाउने बानी बसेको छ ।

‘कसैले गल्तीले पनि महिनावारी हुँदा कक्षा कोठामा भएपछि तत्काल खुट्टा नचल्ने, बोली नआउने, पैतला फर्किने, हातगोडा खुम्चने समस्या भएको प्रत्यक्ष देखेका छौ । अनि कसरी पढाउनु?’

जसले गर्दा छाउपढी प्रथाले विकराल रुपल लिदै पठनपाठनमा समेत प्रभाव पारेको स्थानीय बताउँछन् । जनजागृती विद्यालयमा करिब ३ सय जना विद्यार्थी छन् जसमा छात्राको संख्या१ सय ६ छ । शिक्षक सन्तवीर रावतका अनुसार जम्मा छात्रा मध्ये ८० प्रतिशत महिनावारी हुन्छन् । प्रत्यक दिन कोही नआउने र आएपनि कक्षामा नपढ्ने भएकोले पठनपाठन वर्षौ देखि प्रभावित हुँदै आएको रावतले बताए । किशोरीहरुको मनमै यस्तो जडा गाडेकोले जति सम्झाएपनि सम्भव नभएको शिक्षकहरु बताउँछन् ।

विद्यालय सार्नुको विकल्प छैन्
२०५१ सालमा स्थापना भएको जनजागृती विद्यालयमा छाउपढी प्रथाको अवस्था विकराल हुँदै गएपछि त्यहाँका स्थानीयबासी मन्दिर भन्दा विद्यालय सार्नुको विकल्प नरहेको बताउँछन् । मन्दिर सारेको खण्डमा गाउँलाई नै अनिष्ट हुने हो कि भन्ने त्रास गाँउलेमा छ । महादेव देवताका मुल धामी शेर बहादुर रावतले भने, मन्दिर कुनै हालतमा सर्दैन । विद्यालय सार्नु पर्छ ।

विरामी हुने शिक्षिका तथा किशोरी तिनै मुल धामी शेरबहादुर रावतलाई देखाउँछन् । धामी रावतले नै सबै विरामीहरुलाई विद्यालयमा छुईछुतो हुँदा देवता रिसाएको भन्दै विरामी ठिक गरेको पनि शिक्षकहरुले बताए । तर यो जमानामा पनि छाउपढी प्रथाको विषय बुझ्न नसकी शिक्षण संस्थामै अचम्मको खेल भईरहेको स्थानीयको भनाई छ ।

लाखौमा निर्माण गरिएका संरचना भत्काएर अन्त सार्न सम्भव छैन् । नसारौ दैनिक विद्यार्थी नआउने समस्या छ । तातोपानीका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीका अनुसार अन्धविश्वासलाई आत्मसात् गर्दै पढाईमा बाँधा पुरयाउनु गलत भएको र समुदायमा अझै चेतनाको अभाव रहेको बताउनुहुन्छ ।

जुम्लाका १७ बस्ती छाउगोठ मुक्त गाउँ घोषणा भईसकेका छन् । महिनावारी हुँदा गोठ बस्नु हुदैन, स्वास्थ्य जोखिममा पर्छ भन्ने सबैमा अवगत नै छ । सामाजिक अन्धविश्वासको जालोलाई विद्यालयमै कायम रहेको देख्दा परिपर्तन हेर्न शताब्दी कुर्नु पर्ने आभास हुन्छ ।

सम्बन्धित