तपाईँ सुन्दै हुनुहुन्छः

मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित  

 विराटनगर – प्रदेशसभाको आज बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनि सदनमा प्रस्ताव पेश गर्नुभएको थियो ।

विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सदस्यहरुले कडा विरोध गर्दै नारा लगाएर रोष्टम घेराउ गरे पनि मन्त्री घिमिरेले प्रस्ताव पेश गर्नुभएको थियो । सो विधेयक पारित भएपछि प्रदेशमा चाहिने जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने, विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्चतहका जनशक्ति उत्पादन गरेर स्वरोजगार बनाउने तथा राष्ट्रलाई चाहिने जनशक्ति पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

विधेयक सदनमा प्रवेश गरेदेखि नै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले विरोध गर्दै आएको थियो । विधेयकलाई समृद्ध बनाउन विज्ञ, प्रदेश सदस्य, मन्त्री, कानूनविद्हरुसँग छलफल, सुझाव र परामर्श गरी विषयगत समितिमा लगिएको थियो । सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकलाई बलियो, राम्रो र समृद्ध बनाउन हरेक किसिमको प्रयास गरिएको र राम्रा सुझावलाई ग्रहण गरिएको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button