तपाईँ सुन्दै हुनुहुन्छः

पसाएन धान,कृषक चिन्तित

चितवन। जिल्लामा लगाइएको आयातीत ‘हाइब्रिड’ गरिमा जातको धानको बालाको शुरुआती चरण नै हुन नसकेपछि कृषक चिन्तित बनेका छन् ।

रत्ननगर नगरपालिका वडा नं १० का कृषक ओमप्रसाद रेग्मीले आफ्नोे पाँच कट्ठा खेतमा लगाएको गरिमा जातका धानको गाँज ठूलो भएको तर पसाउन नसकेको बताउनुभयो । स्थानीय साझा एग्रोभेटबाट प्रतिकिलो रु ३५० का दरले किनेर लगेको बीउको धान नपसाएपछि आइतबार कृषि ज्ञान केन्द्रमा पुगेर सो समस्याका बारेमा अवगत गराएको उहाँले बताउनुभयो । तीन वर्षअघि सोही जातको धान लगाउँदा उत्पादन राम्रो भएपछि यस वर्ष पनि लगाएको उहाँको भनाइ थियो ।

रत्ननगर नगरपालिका वडा नं ३ का कृषक जयराम पराजुलीले ज्ञान केन्द्रमा क्षतिपूर्ति माग गर्दै निवेदन दर्ता गराउनुभएको छ । उहाँले आफ्नो १७ कट्ठा १० धुर जग्गामा लगाएको धानमा समस्या देखिएको जानकारी दिनुभयो । गरिमा जातको धान गएको जेठ २ गते बीउ राखेर असार ३ गते रोपेकामा पसाउँदै नपसाएको दुखेसो उहाँले गर्नुभयो । जिल्लाका कृषकले धानको बीउ किनेका एग्रोभेटमा पुगेर दबाब दिने काम गरिरहेका छन् ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकालले इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाभरमा सो धानको बालाको शुरुआती चरण नै हुन नसकेको गुनासो आएको छ भन्नुभयो । केही दिनदेखि दैनिकजसो कृषकले गुनासो गर्ने गरेको भन्दै उहाँले प्रत्यक्षरुपमा आफूहरुले हेर्दासमेत त्यस्तो देखिएको छ भन्नुभयो ।

धानको गाँज ठूलो भएको भए पनि प्रजननमा समस्या देखिएको केन्द्रका प्रमुख ढकालले बताउनुभयो । प्रारम्भिक चरणमा लिइएको जानकारीअनुसार सो जातको बीउ बिक्री गर्ने यहाँको डिलरले १३ हजार ४०० किलो बिक्री गरेको पाइएको छ । नेपालमा सो जातको बीउ भित्र्याउने आधिकारिक कम्पनी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङ हो । सो कम्पनीले गत वर्ष ४० मेट्रिकटन उक्त जातको धानको इजाजत लिएको उहाँले जानकारी दिनुभयो ।

वास्तविक तथ्याङ्क आइनसके पनि करीब एक हजार ३०० बिघामा गरिमा धान लगाइएको अनुमान छ । जसबाट पाँच हजार हाराहारी कृषक प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको केन्द्रका प्रमुख ढकालले बताउनुभयो ।

यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेको उहाँको भनाइ थियो । छिट्टै प्राविधिक कार्यदल वनाएर स्थलगत निरिक्षण गरी प्रतिवेदन तयार गरिने ढकालले जानकारी दिनुभयो । कार्यालयका बाली विकास अधिकृत माधव पौडेलका अनुसार यो विसं २०७२ मा सूचीकृत जात हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेली सक्नुपर्छ । तर त्यसो हुन नसकेको उहाँले जानकारी दिनुभयो । सो बीउ नेपालमा आयात गर्ने सेन्टरका प्रतिनिधि अनुजकुमार चौधरीका अनुसार अनुमति धेरै लिइएको भए पनि नेपालमा २५ टन आएको र त्यसमध्ये केही फिर्ता भएको थियो ।

चितवन, नवलपरासीमा बढी खपत भएको भन्दै उहाँले बाँकी बाँके र दाङमा बिक्री गरेको बताउनुभयो । सबै ठाउँमा यही समस्या देखिएको उहाँको भनाइ थियो । उत्पादन कम्पनीलाई यस विषयमा जानकारी गराइसकिएको चौधरीले बताउनुभयो । धान नपसाएपछि पराल पनि काम नलाग्ने बताइएको छ ।

जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेको बाली विकास अधिकृत पौडेलले जानकारी दिनुभयो ।

गत वर्ष वर्षे धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button