तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा

परासी । पर्यटन प्रवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज स्थापनाका लागि प्रेरित गर्ने अभियानका साथ नेपाल भ्रमण गरिरहनुभएका साइकलयात्री अभियन्ता कर्ण श्रेष्ठ पश्चिम नवलपरासीमा आइपुग्नुभएको छ । खोटाङबाट साइकलयात्रा शुरु गर्नुभएका उहाँले मुलुकका ७५ जिल्ला भ्रमण गरिसक्नुभएको छ ।

यात्राको क्रममा श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनको समुचित सदुपयोग गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको बताउनुभयो । आज बिहान परासीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशमा व्याप्त विकृत्ति र बेथिति नियन्त्रणमा एक्लैको प्रयासले सम्भव नहुने भएकाले सबै नेपाली एक भएर समृद्ध मुलुक निर्माणमा लाग्नुपर्ने सन्देश फैलाउँदै हिँडेको बताउनुभयो ।

“स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुपर्ने, भ्रष्टाचार अनियमितता रोकिनुपर्ने, स्थानीय स्रोत साधन र प्राकृतिक स्रोतको सदुपयोग हुनुपर्ने, कृषिलाई औद्योगीकरण गरिनुपर्नेलगायतका कुरामा मैले भ्रमण गरेका जिल्लाका स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, सञ्चारकर्मी तथा अभियन्तामाझ उठाउँदै आएको छु”, उहाँले भन्नुभयो ।

आफ्नै देशमा उत्पादित सामग्रीको प्रयोग, व्यावसायिक तथा प्राविधिक शिक्षा र नेपालसँग भएको स्रोत साधनको सदुपयोग गर्न सके मुलुकले कोल्टे फेर्ने र भ्रष्टाचार पनि अन्त्य हुने उहाँको भनाइ छ । खोटाङ जिल्ला दिक्तेल नगरपालिका निवासी ३४ वर्षीय श्रेष्ठले २०७५ चैत ३ गतेबाट यात्रा शुरु गर्नुभएको थियो । भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माणको अभियान बोकेर नेपालका सबै जिल्लाको भ्रमण गर्ने लक्ष्यअनुसार उहाँले अब नवलपुर र चितवनको भ्रमणपछि यात्रा सम्पन्न हुने र त्यसपछि विदेशमा पनि साइकलयात्रा गर्ने तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button