तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको धानमा बाला नलाग्ने समस्याका कारण किसान चिन्तित

चितवन– धान खेतीका लागि उर्वर भूमिको रुपमा परिचित जिल्ला चितवन हो । जिल्लाका सयौँ बिगाहामा किसानहरुले धान लगाएका छन् ।

यहाँका किसानहरुले लगाएको धानबालीमा बाला नलाग्ने समस्या भएपछि किसानहरु चिन्तामा परेका छन् । हाइब्रिड जातको ‘गरिमा’ नामको धान लगाएका किसानहरुको धानमा बाला नलाग्ने समस्या देखिएको हो । चितवनको कालिका, रत्ननगर, राप्ती, खैरहनी लगायतका क्षेत्रमा सो धान लगाएका अधिकांश किसानको धानमा बाला नलागेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

पूर्वी चितवनका खेतहरु सुरुमा रोपाइँ गर्नै समस्या हुने गर्दछ । रोपाइँ गरिसकेपछि धानमा हाल्ने मल पाउन किसानले समस्या झेल्दै आए । बल्लतल्ल मल,औषधी हालेर जोगाएको धान बाला नलाग्ने समस्याले गर्दा मर्कामा परेको उनीहरुले बताएका छन् । आफूले लगाएको करिव एक बिगाहा धान खेतमा बाला नलाग्दा दुःखी भएको कालिका वडा नं. ६ खोलेसिमलका किसान फुलमान लामाले बताए ।

उनीसँगैका तारादेवी सिंखडा, सुमित्रा लामिछाने लगायतका किसानहरुको पनि सोही समस्या रहेको उनले बताए । यी त चितवनका प्रतिनिधि पात्र किसान मात्र हुन् । चितवनका सयौँ बिगाहामा लगाएका किसानहरु अहिले धानमा बाला नलाग्ने समस्याले पिरोलिएका छन् ।

हामीले क्षतिपूर्ति पाउनुपर्यो – किसान
आफूहरुले धानको बीउ खरीद गरी हाइब्रिड जातको बीउ लगाएको र सो धानमा बाला नलाग्ने समस्या भएकाले हामीहरुले क्षतिपूर्ति पाउनुपर्ने उनीहरुले बताएका छन् ।

बीउ किनेको पसल, वडा कार्यालय र नगरपालिकामा पनि सो समस्याको बारेमा जानकारी गराएको लामाले बताए । कस–कसबाट गल्ति भएको हो । उनीहरुबाट हामीलाई नगरपालिका र सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने किसानहरुको माग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button