तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा रासायनिक मलको अभाव, किसान चिन्तित

युरिया मल किन्न लागेको किसानहरुको लाईन

तनहुँ– तनहुँमा धान खेतमा हाल्नका लागि रासायनिक मलको अभाव हुदाँ किसानहरु सास्ति भोग्न बाध्य रहेका छन् । पर्याप्त मात्रामा मल नभित्रदा किसानहरु लामो समयसम्म लाइनमा बसेर मल खरिद गर्न बाध्य भएका हुन् ।

बुधबारबाट मल बितरण हुन थालेपछि जिल्लाका किन्नेको भीड लागेको छ । भीड धेरै भएकोले किसान मल किन्नको लागि घटौं लाईनमा बस्न बाध्य भएका छन् । वर्षा भईरहेको र धेरै बेर कुर्नु पर्दा किसानहरु अप्ठ्यारोमा परेका छन् । उनीहरुले लामो समय लाइनमा बसेर समेत पर्याप्त मल प्राप्त गर्न सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले ४२ टन युरिया मल बुधबार ५६ वटा सहकारीलाई वितरण गरेको छ । समयमा नै पर्याप्त मात्रामा मल नआएकोले भीड बढेको हो । कम्पनीका शाखा प्रबन्धक बलबहादुर पन्थले भन्नुभयो, धानमा बाला लाग्न सुरु भईसकेकोले मल राख्न हतार गर्नु पर्ने अवस्था छ ।

विरगंजबाट ल्याइएको उक्त मल तनहुँ, लमजुङ र गोरखाका ५६ वटा सहकारीलाई वितरण गरिएको शाखाले जनाएको छ । असोजको पहिलो हप्ता भित्रैै युरिया मलको आपूर्ति सहज हुने शाखा प्रबन्धक पन्थ बताउनुुहुन्छ । शाखाका अनुसार उक्त मल ती सहकारीलाई समानुपातिक ढङ्गबाट वितरण गरिएको हो ।

कम्पनीले ५६ वटा सहकारीलाई समानुपातिक रुपमा युरिया मल उपलब्ध गराएपछि ती सहकारीहरुले किसान समक्ष विक्री वितरण थालेका छन । व्यास नगरपालिका ३ स्थित नविन उपभोक्ता सहकारी संस्थाका संचालक अतिन्द्र केशरी न्यौपानेले एकै दिनमा एक टन युरिया मल बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार माग अनुसारको मल नहुँदा प्रतिव्यक्ति १० किलो मात्रै दिईएको छ । वितरण गरिएका सहकारीहरुमा पसल नुखुल्दै विहान ६ बजे देखि किसानहरुको घुइचो लागेको थियो । धानबालीमा युरिया मल हाल्ने समयमा साउनदेखि मल बेच्न नपाएकोले भीड बढेको व्यास नगरपालिका–२ गणेशमानचोक स्थित मेलमिलाप कृषि सहकारी सस्थाका सञ्चालक समितिका सदस्य कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

‘साउनदेखि भदौ सम्म धानबालीमा युरिया मल हाल्नुपर्ने हुन्छ त्यही समयमा मलको आपूर्ति हुन सकेन पाण्डेले भन्नुभयो । धान खेतीमा युरिया मल हाल्ने समयमा हाहाकार हुँदै आएपछि किसानहरु चिन्तित भएका थिए । पोटास र डिएपी मल भने कम्पनीमा मौज्दात रहेको शाखा प्रबन्धक पन्थले बताउनुभयो ।

युरिया मलले धानबाली पसाउने, बालीनाली सप्रने, गाज ठूलो बनाउने, उत्पादन राम्रो हुने भएकाले किसानहरु सो रासायनिक मलप्रति आकर्षित हुँदै उहाँ बताउनुहुन्छ । व्यास नगरपालिका–११ पोल्याङ निवासी मिनराज पन्थले चाहिएको भन्दा आधा पनि मल नपाएको गुनासो गर्नुभयो । ‘बुधबार दिनभरी लाईन बसेर बल्ल÷बल्ल १० किलो पाईयो अपुग भएकोले आज फेरी लाईन बसेको छु किसानको समस्या प्रति नेता गंभिर नहुँदा यस्तो दुःख पाईयो ।’ पन्थले भन्नुभयो ।

कृषि क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिन नसक्दा मलको अभाव हुने गरेको शुक्लागण्डकी नगरपालिका दुलेगौंडका कृषक हरि थापा बताउनुहुन्छ । ‘सधैं अभाव हुने गरेको छ शायद धान पाके पछि मल आउँछ होला ।’ कृषक थापाले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यालय प्रमुख कुलप्रसाद अधिकारीले अर्थ मन्त्रालयले प्रशस्त वजेट छुट्टाउन नसकेकोले रायसानिक मलको राष्ट्रव्यापी नै समस्या भएको बताउनुहुन्छ ।

‘नेपालमा सबै कृषकको पुरा गर्नको लागि ८ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ , कार्यालय अधिकारीले भन्नुभयो, सरकारले साढे तीन लाख मेट्रिक टनको लागि अनुदान दिन्छ यसले गर्दा समस्या परेको छ । साथै तिवारीले चाईनाबाट आएका मल कलकत्तामा प्याकिङ गर्न समय लागेकोले पनि आउन ढिलाभएको बताउनुहुन्छ । हाम्रो तहबाट समस्या समाधान गर्न सकिदैन अर्थमन्त्रालयले पनि कृषि मन्त्रालयलाई आवश्यकता अनुसारको वजेट दिनुप¥यो बल्ल कृषकले समयमा मल पाउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button