तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी करिडोरको पर्वत खण्ड अलपत्र

पर्वत ।  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्ड ठेकेदारको लापरवाहिले लामो समयदेखि अलपत्र परेकोे छ । यो सडक भारतको सुनौली देखि चीनको सीमाना कोरला नाकासम्म बिस्तार भैरहेको छ । तर, पर्वत खण्ड अन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ ।

सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । रु नौ करोड १७ लाख ४९ हजार २ सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
पर्वत खण्डमा मोदीखोला र लमाएखोलामा पुल निर्माणको काम भैरहेको छ । अन्य खण्ड अहिले कुनै काम नभई अलप अवस्थामा रहेको छ । उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले लिएको छ । कन्ट्रक्सन कम्पनीकै ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । निर्माण व्यावसायीले काम शुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिवानासहित म्याद थप गरिएको थियो । प्रतिदिन रु ४५ हजार ९०० का दरले जरिवाना लगाएर म्याद थप गरेको चार महीना बितिसके पनि अझै काम पुनः सञ्चालन नगरेको कार्यालयले जनाएको छ ।

उक्त खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले नयाँ ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाल लगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै ६ करोड भुक्तानी लगिसकेको छ भने तीन करोड १७ लाख भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ । पटक पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि बेवास्ता गरेको हो । उहाँले अझै पनि आफूले पहल गरिरहेको बताउँदै अब पनि शुरु नगरे कानून बमोजिम कारवाही गरिने बताउनुभयो । अब अन्तिम पटक चेतावनी दिइने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्द गरिने उहाँले बताउनुभयो । साउन, भदौ, असोजभित्र काम गर्छु भनेर लिखित प्रतिबद्धता जनाएपनि अहिलेसम्म शुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाइ छ ।

सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौँ भन्दै उहाँले अब केही पहरा कटान गरेर ट्र्याक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महीनाभित्र सम्पन्न हुने दाबी गर्नुभयो । राष्ट्रिय गौरवको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ठेकेदारले तीन महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।
उता कालीगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले ठेकेदारले ठगेपछि सार्वजनिक सूचना निकालेर ठेकेदारलाई कारवाहि गर्ने तयारी गरेको छ । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रुपमा हेरिँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button