तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा जुम्ली स्याउ

जाजरकोट। जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । रु एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो ।

स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताउनुभयो । भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका–३ का शारदा ओलीले बताउनुभयो । जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ । जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री–वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् । भारतबाट कमाई गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउ नै कोशेलीका रुपमा लिने गरेका छन् । अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ । यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरु, यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन् ।

जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारीहरु बताउँछन् । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताउनुभयो । भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो । अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, सङ्घसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग दर बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button