तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी लेखा नम्बर लिने बढे

इलाम। सरकारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिन सबैलाई अनिवार्य गरेसँगै इलाममा पनि यो नम्बर लिनेको सङ्ख्या उल्लेखनीयरूपमा बढेको छ ।

सरकारले यस आर्थिक वर्षको शुरुबाटै स्थायी लेखा नम्बर लिन ताकेता गरेसँगै इलामको कर कार्यालयमा नम्बर लिने ह्वात्तै बढेको छ । करदाता सेवा कार्यालय इलामबाट हालसम्म सात हजार ६६६ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । कार्यालयबाट हालसम्म आयकर आठ हजार ८३८ ले लिएका छन् ।

मूल्य अभिवृद्धि करतर्फ ६९१ फर्म दर्ता भएका छन् भने अन्तशुल्कतर्फ ७७० फर्म कर कार्यालयमा दर्ता भएका छन् । यस्तै संस्थागत प्यान नम्बर लिनेको सङ्ख्या ३२ मात्र रहेको छ । यसरी हेर्दा कार्यालय इलाममा हालसम्म १७ हजार ९९७ करदाता रहेको तथ्याङ्क छ ।

कार्यालयमा अहिले हरेक दिन व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड बढी नै रहेको कर अधिकृत प्रकाश राईको भनाइ थियो । सरकारले हरेक व्यक्तिले स्थायी लेखा नम्बर लिन अनिवार्य गराएपछि मानिसको चाप कार्यालयमा बढेको उहाँले बताउनुभयो । धेरैजसो विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएपछि कर्मचारीमा कार्यबोझ पनि बढेको छ । कार्यालयबाट अहिले दैनिकजसो ५०–६० जना सेवाग्राहीले स्थायी लेखा नम्बर लिइरहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button