तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ : राष्ट्रपति भण्डारी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वा्चित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताउनुभएको छ ।

संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले संविधानले मानवअधिकार विधिको शासन, समावेशी लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र र प्रगतिशील समाजका मूलभूत आधारलाई आत्मसात् गरेको बताउनुभयो ।

नेपाली जनताको निरन्तर सङ्घर्ष, जनआन्दोलनको परिणमस्वरुप २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको स्मरण गर्दै उहाँले यस पुनित अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गनुभयो ।

विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई पूर्ण सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न तथा सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button