तपाईँ सुन्दै हुनुहुन्छः

‘डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’

हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मनाङमा समेत एक जनामा डेङ्गु देखापरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार रोगका कारण हालसम्म काठमाडौँ, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा गरी ६ जनाको मृत्यु भएको छ । सात हजार ३७० जनामा डेङ्गु रोगी फेला परेका छन् । निजी क्लिनिकमा उपचार गर्नेको सङ्ख्या यसमा उल्लेख गरिएको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ कीटजन्य रोग अनुसन्धानकर्ता डा मेघनाथ घिमालका अनुसार नेपालमा एडिस एजेप्टीले एक हजार ८०० र एडिस एल्बोपिक्टसले दुई हजार १०० मिटरको उचाइमा प्रजनन गर्ने क्षमता पाइएको छ । “जलवायु परिवर्तन र तापमान वृद्धिका कारण ती दुवै प्रजातिका लामखुट्टे सबै हावापानी भएको ठाउँमा पुगेका छन् ।

सन् २०१२ मा छ महीना लगाएर परिषद्ले अध्ययन सम्पन्न गरेको थियो । डेङ्गु सार्ने लामखुट्टे लगभग दुई हजार १०० मिटरको उचाइसम्म फैलिन सक्ने र ती उचाइमा लामखुट्टेका एडल, लार्भा र फुलसमेत फेला परेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको थियो ।

परिषद्को अध्ययनले सो रोग महामारीका रुपमा फैलिसकेको तर जनमानसमा रोगबारे ज्ञानको कमी भएको देखाएको छ । अध्ययनअनुसार माथिल्लो भूभाग अर्थात् हिमाल र पहाडी जिल्लाका १६ तथा तल्लो अर्थात् तराईका जिल्लाका ५३ प्रतिशत नागरिकले मात्र डेङ्गुबारे सुनेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button