तपाईँ सुन्दै हुनुहुन्छः

संविधानलाई पूर्ण कार्यान्वयनको दिशामा अगाडि बढाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री पोख्रेल

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले संविधान गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकता र औचित्यका आधारमा परिमार्जन गर्देै लैजान सकिने बताउनुभएको छ ।

प्रशासकीय अदालतको वार्षिकोत्सव तथा संविधान दिवसका अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले संविधानको व्यवस्था र संघीयतालाई लिएर देखिएको अन्तरविरोधलाई चिर्दै संविधानलाई पूर्ण कार्यान्वयनको दिशामा अगाडि बढाउनु आजको आवश्यकता हो भन्नुभयो ।

उपप्रधानमन्त्री पोख्रेलले गरिवि निवारण, शिक्षा, स्वास्थ्य र न्यायजस्ता क्षेत्रमा जनताको सहज पहुँच पुर्याउने विषयमा देखिएको चुनौतीसँग जुध्न सबै पक्षलाई जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानलाई समयसापेक्ष परिस्कृत र परिमार्जन गर्दै समृद्ध संविधानका रुपमा स्थापित गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयनका लागि स्वस्थ अभ्यासहरुको आवश्यकता रहेको र संविधान कार्यान्वयनका संयन्त्रहरुलाई समेत बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वित्तिय संघीयता विज्ञ डा.खिमलाल देवकोटाले संविधान कार्यान्वयन उपलव्धी र आगामी मार्गचित्रका सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button