तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सूचारु

ओखलढुंगा  –  पहिरोका कारण  अवरुद्ध थुनिएको मध्यपहाडी लोकमार्ग सूचारु भएको छ । तीन दिन देखिको अभिरल वर्षाका कारण खोलामा आएको बाढी र ठाँउ ठाँउमा गएको पहिरोले थुनिएको सडक आज बिहानबाट सूचारु भएको हो ।

मानेभञ्ज्याङ्ग गाउँपालिका–६ ओखलढुंगाको भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढी र घुर्मी आसपासका क्षेत्रमा गएको पहिरो पन्छाएर सडक सूचारु गराईएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । भँडारे खोलामा आएको बाढीले आसपासको सडक बिगारेको थियो ।

उदयपुरको घुर्मी बजारमा नजिकै घुम्तिमा सडक भासिएको थियो । सिद्धिचरण लोममार्गको घुर्मी–कटारी र घुर्मी–खुर्कोट सडकका दर्जनौं स्थानमा पहिरोले अवरुद्ध भएको सडक विपद व्यवस्थापन समिति ओखलढुंगा र स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय हर्कपुरको प्रयासमा पहिरो पन्छाएर पूर्ववत अवस्थामा सवारी सञ्चालन गराईएको छ ।

सडक अवरुद्ध हुँदा ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गबाट काठमाण्डौ र तराईका लागि छुटेका सवारी ओखलढुंगाको हिलेपानी, उदयपुरको घुर्मी बजार लगायतका सिन्धुलीका विभिन्न ठाउँहरुमा रोकिएका थिए ।

सडक सूचारु भएसँगै यात्रुहरु गन्तव्यमा लागेको घुर्मी प्रहरी विटका ईन्चार्ज पहलमान कार्कीले जानकारी दिनुभयो । लगातार केही समय पानी परेमा मात्रै पनि सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट राजधानी काठमाण्डौं र तराईका जिल्लामा जोडिने सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button