तपाईँ सुन्दै हुनुहुन्छः

जापान जान लिइने परीक्षाको केन्द्र तोकियो, कहाँ हुन्छ परीक्षा ?

काठमाडौं । नर्सिङ केयर कामका लागि जापान जाने कामदारको परीक्षा केन्द्र तोकिएको छ ।

जापान र नेपालबीच २०७५ चैत ११ गते भएको शून्य लागतको सम्झौतापछि पहिलो चरणमा नर्सिङ केयरगिभरका रुपमा लैजाने कामदारका लागि परीक्षा केन्द्र तोकिएको हो ।
हालै तोकिएको परीक्षा केन्द्र डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट हो ।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने सूचना प्रक्रिया अघि बढिसकेको जानकारी गराइसकेको छ ।

नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानिज भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्ने छ । जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो । उक्त परीक्षाका लागि पहिलो चरणमा १ हजार आवेदन लिने जनाइएको छ ।

आवेदन अनलाइनमार्फत दिन सकिने र सुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको थियो । सूचनामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने व्यवस्था छ ।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने पास गर्नुपर्ने हुन्छ ।

नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन् ।

परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ । ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने बताइएको छ ।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ । दुवै परीक्षाका लागि एक हजार जापनिज येन शुल्क लाग्ने छ ।

केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापनिज दूतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता गरिसकेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग २०७५ चैत ११ गते जापानसँग भएको श्रम सम्झौता अनुसार पहिलो पटक नेपालबाट केयर गिभर लैजान लागिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button