२०७८ साल साउन १६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम मोलेर बालुवाका भरमा परिवारको जोहो

रेडियो नेपाल २०७६ असोज १ गते १०:४१

 

दार्चुला। महाकाली नगरपालिका–५ खलङ्गाका करनसिंह बोहराले महाकाली नदीको बालुवाका भरमा परिवारको जोहो गर्नुहुन्छ । बर्खायाममा नदीले थुपारेको र बगाएर ल्याउने बालुवा सङ्कलन गरेर उहाँले पाँच जनाको परिवार पाल्नुभएको छ ।

बैतडीको पुच्र्यौडी नगरपालिका–५ बाट कामको सिलसिलामा २० वर्षअघि यहाँ आउनुभएका बोहराले पूरै परिवार खलङ्गा ल्याउनुभएको छ । शुरुमा भारी बोक्ने काम खोज्दै आउनुभएका बोहरा पछि कामबाट राम्रो आम्दानी हुन थालेपछि पूरै परिवारसँगै खलङ्गा बस्दै आउनुभएको छ । बोहराका एक छोरा र दुई छोरी छन् । छोरीहरु महेन्द्र मावि खलङ्गामा अध्ययन गर्छन् भने छोरा ट्र्याक्टर चलाउँछन् । दुवै जना झिसमिसेमै महाकाली नदी किनार पुगेर बालुवा सङ्कलन शुरु गर्नुहुन्छ ।

बालुवा निकाल्न स्थानीयवासीको प्रतिस्पर्धा नै हुन्छ । बालुवा बढी थुपार्नकै लागि महाकाली नदीको मध्यभागसम्म पुग्छन् । महाकाली नदीको बङ्गाबगड क्षेत्र र वीरेन्द्र वन क्षेत्रबाट बढी बालुवा सङ्कलन हुने गरेको छ । सदरमुकाम खलङ्गामा मात्रै सयौँ परिवारले बालुवा झिकेर घरको जोहो चलाउने गरेका छन् । बोहरासँगै महाकाली किनारमा बालुवा सङ्कलन गर्न भेटिएका बैतडी पुच्र्यौडीकै किसनसिंह बोहरा एक महीनाअघि मात्रै यहाँ आउनुभएको छ ।

“गाउँलेसँगै बालुवा निकाल्ने काममा लागेको छु” उहाँले भन्नुभयो, “भेटघाटका लागि यहाँ आएको हुँ, तर महाकालीमा बालुवाबाट राम्रो आम्दानी हुने देखिएपछि काम गर्दैछु, गाउँमा काम गर्न पाइँदैन, सडकको काम डोजर र स्काभेटरले खोस्यो, अरु काम छैन । वर्खाको उर्लिएको महाकाली नदीमा जोखिम मोलेर बिहानैदेखि बालुवा झिक्ने गरेका उहाँ स्थानीय सरकार आएपछि झनै काम खोसिएको बताउनुहुन्छ ।

नेपाल र भारतको सीमा भएर बग्ने महाकाली नदीमा अहिले स्थानीयवासीले दिनहँु बालुवा निकाल्ने गरेका छन् । नदीमै गएर झिकेको बालुवा रु ६० प्रतिकट्टा बिक्री हुने गरेको छ । “दैनिक ३०÷४० कट्टा बालुवा निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो, “खान लगाउन पुगेको छ ।” हिउँदमा महाकाली नदीमा बालुवा पाइँदैन । हिँउदमा गिट्टी कुट्ने काममा सक्रिय हुने गरेको करनसिंहले बताउनुभयो ।

“सडक किनारमा बालुवाको थुप्रो बनाएर बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “महाकाली नदी निकारमा आएर पेट पाल्नकै लागि बालुवा निकालेर बोक्ने काम गर्छौँ ।” स्थानीय भागरथी विष्ट पनि जोखिम मोलेरै महाकाली नदीमा बालुवा निकाल्दै आउनुभएको छ । एक महीनादेखि निरन्तररूपमा बालुवा खोज्नमा व्यस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकाली नदीभित्र पसेर मात्र बालुवा निकाल्न सकिन्छ, तर नदी कुन बेला बढ्छ थाहै हुँदैन ।”

दार्चुलाको व्यास, दुहँु, महाकाली नगरपालिका, लेकम गाउँपालिकाका अधिकांश नदी किनारका नागरिक बालुवामा आश्रित छन् । सङ्कल्पद्वारा सञ्चालित दक्षिणी एशियाली सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना टोसा कार्यक्रमले गरेको सर्वेक्षणअनुसार तीन गाउँपालिका र एक नगरपालिकाका झण्डै २५० घरधुरी महाकाली नदीको बालुवा र गिट्टीमा आश्रित छन् ।

सम्बन्धित