तपाईँ सुन्दै हुनुहुन्छः

हनुमान ढोकामा ठड्याइएको लिंगो ढालिएसँगै इन्द्रजात्रा सम्पन्न, राष्ट्रपतिद्वारा टीकाग्रहण

काठमाडौं- हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा बुधबार विहान हनुमान ढोकामा ठड्याइएको लिंगो ढालिएसँगै समापन भएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा विधिवत ठड्याइएको लिङ्गो बुधबार बिहान शुभ साइतमै ढालिएको हो ।
जात्राको अन्तिम दिन हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवीका रुपमा मानिने कुमारीबाट टीका ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गर्नुभएको राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिनुभयो । इन्द्रजात्रामा हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ ।

इन्द्रजात्रा अन्तिम दिन हिजो रथयात्रा नगरको विभिन्न ठाउँमा घुमाएर हुनमानढोकास्थित कुमारी घरमा पुगेपछि राष्ट्रपति भण्डारीलाई कुमारीले टीका लगाइदिनुभएको थियो । टीका ग्रहणपछि कुमारीका गुरुजु बज्राचार्यबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन मंगलबार कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ साढे ६ बजे हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो । उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भेँडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो । हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर कुमारी घरमा लगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button