तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु मैदानमा भ्यालेन्सियासँग चेल्सीको हार

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन लिग फुटबलमा इंग्लिस क्लब चेल्सी घरमै स्पेनिस क्लब भ्यालेन्सियासँग पराजित भएको छ ।  स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको हो ।

प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको इंग्लिस मिडफिल्डर मेसन माउन्ट खेलको शुरुमै युवा चोट बोक्दै मैदानबाट बाहिरिएपछि चेल्सी समस्यामा परेको थियो । त्यसपछि पनि चेल्सीले भ्यालेन्सियालाई दवावमा राख्दै गोलको अवसर सिर्जना गरेपनि भ्यालेन्सियाको बलियो रक्षापङ्ति तोड्न असमर्थ रह्यो ।

उल्टै ७४औं मिनेटमा घरेलु टोली गोल खान पुग्यो । ड्यानियल पारेजोको फ्रिकिकमा रोड्रिगोले चलाखीपुर्ण तरिकाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा चेल्सीले खेललाई बराबरी गर्ने अवसर पाएको थियो । रस बार्कलीको पेनाल्टी प्रहार क्रसबारमा लाग्दै बाहिरिदा चेल्सीले बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमै १–० ले पराजित हुन पुग्यो ।

च्याम्पियन्स लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरेका फ्रान्क लाम्पार्डले सुखद सुरुवात गर्न सकेनन् । जितसँगै भ्यालेन्सियाले समूह ‘एच’ मा महत्वपुर्ण ३ अंक जोडेको छ । चेल्सी अंकविहीन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button