तपाईँ सुन्दै हुनुहुन्छः

कालोपत्रको योजनामा वर्षा बाधक

पर्वत -निरन्तरको बर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा कालोपत्र गर्ने योजना अलपत्र परेको छ । भदौरे वर्षाले केहिदिनदेखि लोकमार्गमा निरन्तर पहिरो खसेको छ । मंगलवार मात्रै दर्जनौँ ठाउँमा ठुल्ठुला पहिरो झरेको छ । कालोपत्रको तयारीमा रहेको सडकमा माथिबाट आएको पहिरोले ठाउँ ठाउँमा सडक नै भत्किएको छ । कास्की खण्ड र पर्वत खण्डमा मंगलवार पहिरोले ११ घण्टासम्म सडक अबरुद्ध भयो ।

मध्यपहाडी क्षेत्र भएर नेपालको पूर्व पश्चिम जोड्नेगरी निर्माण सुरु गरिएको लोकमार्गको गण्डकी प्रदेश खण्डमा पर्ने गोरखाको आरुघाटदेखि बागलुङको निसीखोलासम्मको करिब ३ सय ५३ किलोमिटर खण्ड पर्छ । पर्वतमा २४ किलोमिटर सडक पर्छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले पहिरोले सडक कालोपत्र गर्ने सबै तयारी ठप्प रहेको बताउनुभयो ।

दशैँ अगाडी पर्वत खण्डमा २३ किलोमिटर कालोपत्र गर्ने योजना थियो । तर वर्षाले पहिरो झरेर कुनै काम अगाडी बढाउन नसकिएको उहाँले बताउनुभयो । आयोजना कार्यालयलाई अहिले बन्द भएको सडक खुलाउनमै व्यस्तता छ ।

पर्वत खण्ड लामा कन्ट्रक्सन र कास्की खण्ड एपेक्स कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ । पर्वतको अँधेरीखोला देखि मालढुंगा सम्मको साढे २३ किलोमिटर सडकमा मालढुंगा देखि जिल्ला प्रहरी कार्यालय पर्वत सम्मको ८ किलोमिटरमा दशैं सम्म कालोपत्रे गर्ने तयारी भएपनि कम्तीमा ७ किलोमिटर कालोपत्रे गर्नका लागि सबै तयारी गरेर बसेको निर्माण कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधी दयाराम थापाले बताउनुभयो ।

कास्कीको नयाँपुल देखि घट्टेखोला सम्म सडक कालोपत्रे गर्ने जिम्मा लिएको एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधी काशीराज बोहराले सडकमा वर्षाले पहिरोको समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार पानी नपरेको अबस्थामा ४ किलोमिटरमा दोस्रो चरणाको कालोपत्रे सक्ने र बाँकी ७ किलोमिटरमा प्रथम चरणको कालोपत्रे योजना थियो । लोकमार्गको पोखरा देखि मालढुंगा खण्ड चार खण्डमा बिभाजन गरेर स्तरोउन्नतीको काम भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button