२०७८ साल साउन १४ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ का अस्पताल भाईरल ज्वरो र डेंगु संक्रमणका विरामीले भरिए

ध्रुव अधिकारी २०७६ भदौ ३१ गते १५:४९

बीरगंज।बीरगंजको नारायणी अस्पताल सहित प्रदेश नम्बर २ का विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरो र डेंगु संक्रमणका कारण विरामीको चाप थामि नसक्नु भएको छ । कतिपय अस्पतालहरुमा बेड अभाव भएपछि एउटै बेडमा दुई जना तथा भुइँमै विरामी राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको छ ।

डेंगु संक्रमण बढ्दै गएको र वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल शिक्षण अस्पताल, नारायणी बयोदा अस्पताल, गण्डक अस्पताल, वीरगंज हेल्थ केयर लगायतका अस्पतालहरुमा अहिलेसम्म झण्डै १ सय ३० जना भन्दा बढीको उपचार भएको छ भने नारायणी अस्पतालमा मात्रै अहिले नयाँ ७ जना डेंगु रोगी भर्ना भएका छन् ।

नारायणी अस्पतालमा दैनिक रुपमा डेंगु संक्रमित भएर ३ देखि ४ जना विरामी आउने गरेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा.उदय नारायण सिंहले जानकारी दिनुभयो । बीरगंज महानगरपालिकाका स्वास्थ्य संयोजक अरुण महतोका अनुसार पछिल्लो समय उच्च ज्वरो आएर अस्पताल पुग्ने २० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ ।

साउन अन्तिम साताबाट भेटिएका डेंगुका बिरामी भदौको दोस्रो साताबाट उल्लेख्य संख्यामा बढेको र यसबाट महिला, पुरुष, युवादेखि वृद्धसम्म प्रभावित भएका छन् । बीरगंजमा ०६७÷६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । यसपछि संक्रमण बढदै गएको छ । डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

डेंगुको उपचार नहुने भएकाले प्रतिरोधात्मक क्षमता बढी हुनेले घरमै बसेर ज्वरो घटाउने औषधि खाँदा पनि हुने डा.उपाध्यायले जानकारी दिनुभयो । यसैविच नारायणी अस्पतालमा डेंगु परिक्षणको लागि किटको अभाव नभएको र मापदण्ड पुरा गरेका शंकास्पद डेंगु रोगीको निःशुल्क परिक्षण अस्पतालले गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो  ।

हाल वीरगंज लगायत प्रदेश २ का अस्पतालहरुमा भाईरल जरो र डेंगुको अलावा टाईफाईड, निमोनिया, मलेरिया, मेनेजाईटिस, पिसावको इन्फेक्सनबाट हुने ज्वरो तथा दमका विरामीहरु बढी मात्रमा उपचारार्थ भर्ना भएको चिकित्सकहरुले बताएका छन् ।
त्यसैगरी कलैया अस्पतालमा समेत भाईरल ज्वरो र डेंगुका विरामीहरुको संख्या उच्च रहेको र अस्पतालमा चिकित्सक तथा डेंगु परिक्षण किटको अभाव हुँदा उपचारमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रेमशंकर चौरसियाले बताउनु भयो ।

सम्बन्धित