तपाईँ सुन्दै हुनुहुन्छः

गलकोटमा व्यावसायिक कागतीखेती

बाग्लुङ। बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताउनुभयो ।

गत वर्ष ४०० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती खेती थालेको उहाँको भनाइ थियो । दुई दशक अघि स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्यापन पेशामा आवद्ध खरेल अवकाश पश्चात व्यावसायिक कृषि पेशामा सक्रिय हुनुहुन्छ । कागती भारतबाट गाउँमै आयात हुन थालेपछि यसलाई रोक्नका लागि व्यावसायिक कागतीखेती गर्ने चाहना भित्रैदेखि जागृत भएको खरेलले बताउनुभयो ।

“गाउँमै कागतीखेती सम्भव छ भन्ने लागेर परीक्षण गरे, त्यो सफल भएपछि यही व्यावसायिक उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छु”, खरेलले भन्नुभयो ।

मेहनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागती खेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ । “कागतीको राम्रो सम्भावना देखेर तीन रोपनी बारीमा व्यावसायीक रुपमा कागती खेती थालेको छु”, उहाँले भन्नुभयो “वर्षेनी कागतीका बिरुवा थप्दै जाने योजनामा छु ।”

खरेलले गलकोट कृषि तथा पशुपक्षी उत्पादन तथा बिक्री केन्द्र नामको फर्म स्थापना गरी कृषि पेशा थाल्नु भएको हो । अहिले उहाँले व्यावसायिक तरुल खेती, जर्सी गाई तथा भैँसीपालन गर्दै आउनुभएको छ । नगरपालिकामा व्यावसायिक रुपमा कागतीखेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले गतवर्ष ६ हजार कागतीका बिरुवा अनुदानमा बितरण गरेको नगरपालिकाका कृषि तथा पशु प्राविधिक चिन्तामणि शर्मा गैरेले जानकारी दिनुभयो । गलकोटममा मात्रै अहिले पाँच जनाले व्यावसायिक रुपमा कागतीखेती शुरु गर्न लागेको नगरपालिकाले जनाएको छ ।

गलकोट रिघाका दानबहादुर श्रीसले आफ्नो बारीमा अहिले ५०० कागतीका बिरुवा लगाउनुभएको छ । कागती स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ भने भिटामिन ‘सि’ का लागि यसको प्रयोग गर्ने गरिएको छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारकालगायत विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button