तपाईँ सुन्दै हुनुहुन्छः

दश हेक्टर जमीनमा फूलखेती

बनेपा । व्यावसायिकरूपमा फूलखेती गर्दै आएका यहाँका किसानले पछिलो समयमा मनग्य आम्दानी गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी फूलखेती गर्ने किसानले करीब १० हेक्टर जमीनमा खेती गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष वीरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा ३० भन्दा बढी किसानले फूलखेती गर्दै आएका छन् ।

व्यावसायिकरूपमा नै खेती गर्दै आउनुभएका किसानले करीब रु १५ करोडसम्मको लगानी गरी खेतीलाई अगाडि बढाइरहेका श्रेष्ठको भनाइ छ । उहाँका अनुसार यस वर्ष मात्रै काभ्रेपलाञ्चोकमा रु चार करोड एक लाख बराबरको फूलको कारोवार भएको छ ।

त्यसरी व्यवसाय गर्दै आइरहेको फूलखेतीको विस्तार, विकास र प्रवद्र्धन गर्न प्रचुर सम्भावना रहेको व्यवसायीले बताएका छन् । काभ्रेपलाञ्चोक भौगोलिकरूपमा फूलखेतीका लागि उपयुक्त वातावरण भएका कारण फूलखेतीका लागि धेरै सम्भावना बोकेको व्यवसायीको भनाइ छ । यहाँबाट कठमाडौँमा बिक्री हुँदै आएको कट्फ्लावरको माग निकै बढेको व्यवसायीले बताएका छन् ।

यसरी सम्भावना रहेको खेतीको व्यावसायिक विस्तार गर्न भने लगानीको अभाव र पर्याप्त मात्रामा बजार नहुँदा समस्या व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । त्यससँगै दक्ष जनशक्तिको अभाव हुनु, दीर्घकालीन योजनाको अभाव, न्यून साधन स्रोत, उद्यमशीलतको अभाव र अनुसन्धानमा सरकारको लगानी नहुनुलगायतका समस्या रहेका व्यवसायी बताउँछन् ।

त्यस्तै व्यावसायिक शिक्षा, सूचना र तालीमको अपर्याप्ततासँगै गर्दै आएको व्यवसायमा खेतीसम्बन्धी प्रविधि तथा प्राविधिकको उपलब्धता सीमित हुनुका साथै बाढी, पहिरो, असिना र वर्षाका कारण क्षति हुने भएकाले समस्या ब्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । फूलखेतीमा बीमाको व्यवस्था नहुँदा किसान थप मर्कामा छन् ।

त्यस्तै समस्या र सम्भावनाको बीचमा पनि विसं २०५६ देखि व्यावसायिकरूपमा सङ्गठित भई पेशाप्रति निष्ठावान तथा लगनशीलताका साथ कार्य गर्दै पुष्प व्यवसायलाई काभ्रेपलाञ्चोकमा फ्लोरिकल्चर एशोसिएसन नेपालमार्फत फरक उद्योगका रुपमा आफूहरुले स्थापना गर्न सफल भएको संस्थाका सचिव एवं बुद्ध नर्सरी तथा फलफूल फार्मका सञ्चालक शम्भु तामाङले बताउनुभयो ।

पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका, चौरीदेउराली गाउँपालिकासहित जिल्लाका अधिकांश स्थानीय सरकारमार्फत पनि कृषि क्याम्पस सञ्चालन हुनुका साथै कृषि विषयमा निजी संस्थाले अध्यापन गराइरहेको अवस्थामा विषयगतरूपमा पुष्प व्यवसायको पनि पाठ्यक्रममा समायोजन गर्न सकिए अझ व्यावसायीकरण गर्न सहजरुपमा युवाहरु आकर्षित हुने सम्भवाना रहेको तामाङ बताउनुहुन्छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष कुमार कसजू श्रेष्ठले पुष्प व्यवसाय धेरै लगानीमा गर्ने खेती भएकाले नगरपालिकाले रु दुई÷चार लाख बजेट छुट्याएर मात्रै व्यावासायिक प्रवद्र्धन हुन नसक्ने उल्लेख गर्दै नगरपालिका र संस्थाबीचको समन्वय गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।

फूलको महत्व र आवश्यकता जन्मदेखि अन्त्यसम्मको लागि समेत भएकाले स्थानीय सरकारले पुष्प व्यवसायीको व्यावसायिक प्रवद्र्धनका लागि नीति नै बनाएर बजेट व्यवस्थान गर्न सके फूलखेतीको प्रचुर सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले पुष्प व्यवसायीलाई बजार प्रवद्र्धनमा केन्द्रित भएर बजारीकरणमा जोड दिन आग्रह गर्नुभयो ।

व्यवसायीले आफ्नो व्यावसायिक उत्पादन गरेर मात्रै नभई त्यसको महत्वलाई बुझाएर बजारीकरणको लागि पनि उत्तिकै प्रयत्न गर्न जरुरी रहेको उहाँको सुझाव छ । “व्यावसायिक प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने काममा सहयोग गर्न तयार छौँ”, ब्याञ्जुले भन्नुभयो । काभ्रेपलाञ्चोकमा व्यवसायीले कार्नेसन, जरवेरा, रोज, लिमुनियम, मेरीगोल्ड, गोदावरीलगायतका फूलको खेती गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button