तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादन बृद्धि गर्ने प्रदेश ३ सरकारको निति

मकवानपुर-हेटौंडा– ३ नम्बर प्रदेश सरकारले कृषिलाई उद्योगमा परिणत गर्दै उत्पादनलाई बृद्धि गर्ने निति लिएको छ । प्रदेशमा कृषि क्षेत्रका सम्भावनाहरुलाई विकास र विस्तार गर्दै उत्पादन बृद्धि तथा बजारको उचित व्यवस्थापन गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

यसले युवा स्वरोजगारको संख्यामा बृद्धि गराएर आर्थिक रुपमा समृद्ध प्रदेश निमार्ण गर्न प्रदेश सरकारले आधार तयार पार्दै अगाडी बढेको छ ।

प्रदेश सरकार कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै प्रदेशलाई कृषिका माध्यमबाट समृद्ध बनाउने केही महत्वपूर्ण योजना बनाएर अगाडी बढेको छ । प्रदेशको आर्थिक उत्पादन वृद्धि तथा कृषिलाई आधुनिकीकरण गर्दै खण्डीकरण कृषि प्रणालीलाई विस्थापित गर्दै चक्लाबन्दी कृषि प्रणालीमा जोड दिँदै सामूहिक खेती प्रणाली अवलम्बन गर्ने कामको सुरुआत समेत गरिसकेको छ ।

यसले कृषि क्षेत्रमा ठुलै उपलब्धी हासिल हुने सरकारले आशा गरेको छ । सडकको छेउछाउ, घरभित्रको कम्पाउन्ड, बारी आदि स्थानमा बिरुवा रोपेर अबको ४÷५ वर्षभित्रमा प्रदेशलाई फलफूलमा पूर्ण रूपले आत्मनिर्भर बनाउने योजना समेत प्रदेश सरकारको रहेको छ ।

यसैगरी माछामासु आयातबन्द गरेर आत्मनिर्भर बनाउने अभियान समेत सुरु भैसकेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ । कृषि र पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर रोजगारी सिर्जना गर्ने योजना समेत प्रदेश सरकारले सुरु गरिसकेको मुख्यमन्त्री पौडेल बताउनुहुन्छ ।

नेपालमै उपलब्ध हुने कच्चा पदार्थबाट चल्ने निर्यातमूलक उद्योग स्थापना गर्ने र कृषि जडिबुटीसँग जोडिएका उद्योग चलाएर प्रदेशलाई आयातमुखीबाट विस्तारै निर्यातमुखी अर्थतन्त्रतर्फ उन्मुख गराउने योजना प्रदेश सरकारको रहेको उहाँ बताउनुहुन्छ । प्रदेश सरकारले उत्पादनसँग जोडिएका काम गर्ने उहाँको भनाई छ ।

यी सबै उपलब्धी हाँसिल गर्न प्रदेश सरकारले केही महत्वपुर्ण कामको थालनि सुरु गर्न लागेको मुख्यमन्त्री पौडेल बताउनुहुन्छ । प्रदेशमा विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गरि सामुहिक करार खेतीमा आधारित एकीकृत कृषि प्रणालीलाई अभियानको रुपमा कार्यान्वयनमा ल्याउने योजना बनाएको उहाँले बताउनुभयो ।

त्यस्तै सार्वजनिक निजि क्षेत्रको साझेदारीमा एक जिल्ला एक एकीकृत श्रोतकेन्द्र सहितको कृषि फार्म संचालन गर्ने प्रदेश सरकारको योजना रहेको छ । यसका साथै प्रदेशका ६६ निर्बाचन क्षेत्रमा ६६ नमुना कृषि फार्म गरेर कृषि क्षेत्रलाई विस्तार गर्दै आर्थिक रुपमा सक्षम प्रदेश निर्माण गर्ने प्रदेश सरकारको योजना छ । कृषि क्षेत्रमा व्यापक सफलता हासिल गर्न प्रदेश सरकारले उत्पादन बृद्धि देखि कृषि बजारको व्यवस्थापनमा विषेश ध्यान दिएर काम सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button