तपाईँ सुन्दै हुनुहुन्छः

फिस्लिङमा प्रहरी पोष्ट स्थापना

मुग्लिन-चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको र लामो समयको प्रयासपछि अस्थायी भए पनि प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउनुभयो । प्रहरी उपरीक्षक दानबहादुर मल्लले अन्तै बस्न लागेको प्रहरी जनशक्ति यहाँ बढी आवश्यक भएर उपलब्ध गराइएको बताउनुभयो ।

उपरीक्षक मल्लले यहाँ भीडभाड र दुर्घटना बढी हुने गर्दा इलाका प्रहरी कार्यालय मुग्लिनबाट नागरिकलाई सेवा दिन कठिनाइ भइरहेको र स्थानीय मागबमोजिम नै प्रहरी पोष्ट स्थापना गरिएको उल्लेख गर्नुभयो । अहिले स्थानीय सगरमाथा युवा क्लबको भवनमा अस्थायी प्रहरी पोष्ट सञ्चालन गरिएको छ । यस प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरीले आइतबारदेखि नै सेवा शुरु गरेका छन् ।

प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय खुशी भएका छन् । सगरमाथा क्लब फिस्लिङका प्रतिनिधि कमल ठकुरीले लामो समयको प्रयासपछि यहाँका स्थानीयको माग पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button