तपाईँ सुन्दै हुनुहुन्छः

प्रकाश दाहाल स्मृति कप भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौँ – नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार गंगाबुस्थित नयाँ बसपार्कमा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई ३–२ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । सुरुवाती दुई सेट २५–२१ र २५–२० ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गुमाएको थियो ।

चौथो सेटमा एपिएफले २५–२१ को जित निकालेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । पाँचौ सेट निकै रोमान्चक र प्रतिसप्रर्धात्मक रह्यो । पाँचौ सेटमा पुलिसले १६–१४ को संघर्षपूर्ण विजयी निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्यो । रेफ्रिको निर्णयको कारण निर्णायक पाँचौ सेटमा केहि समय विवाद समेत उत्पन्न भएको थियो ।

पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग सोमबार खेल्ने छ । आर्मी शनिवार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । शनिवार नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल स्थागित भएको थियो । प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौले आयोजना गरेको सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिताको तेस्रो स्थानको खेल पनि सोमबार नै हुने छ ।

प्रतियोगिताको विजेता ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका स्वर्गिय सुपत्र प्रकाश दाहालको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button