तपाईँ सुन्दै हुनुहुन्छः

सागका लागि आर्चरीको खेलाडी छनोट शुरु

कास्की । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ ।

पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो । आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी दुई क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३० गतेसम्म खेलाडी छनोट गरिसकिने उहाँले जानकारी दिनुभयो ।

रिकर्भका लागि १७ पुरुष र ११ महिलामध्येबाट सागका लागि चार पुरुष र चार महिला छनोट गरी आगामी असोज १ गतेबाट पोखरामै बन्द प्रशिक्षण शुरु गरिने अध्यक्ष गुरुङको भनाइ छ । सागको आर्चरीको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने निश्चित भइसकेको छ ।

कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरिसकिएको सङ्घले जनाएको छ । पुरुषतर्फ रमेश भट्टचन, सनातन मल्ल, योगेन्द्र शेरचन र मीनप्रसाद गौचन छन् । महिलातर्फ पार्सदा आचार्य, मोनिका राना, रश्मी दर्लामी र मञ्जु बजगार्इं अन्तिम सूचीमा परेका छन् । सागको आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताउनुभयो ।

रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदका लागि प्रतिस्पर्धा हुने थकालीले जानकारी दिनुभयो । श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो ।

नेपालले ११औँ र १२औँ सागमा पुरुष व्यक्तिगततर्फ काश्य पदक जितेको र आफ्नै घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिएकाले स्वर्ण पदक जित्ने गरी तयारी गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । महिला व्यक्तिगतमा स्वर्ण तथा पुरुष समूह र व्यक्तिगतमा समेत पदक आउने सम्भावना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button