तपाईँ सुन्दै हुनुहुन्छः

परिवर्तनको पक्षमा जनमत बनाउन बुद्धिजीवीलाई प्रचण्डको आग्रह

काठमाण्डौ –  नेपाल कम्युनिष्ट पार्टी– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समययता नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा छलफल भन्दा पनि बढी उत्तेजना र आवेग फैलाउने प्रवृत्ति बढ्दै गएकोले परिवर्तनको पक्षमा जनमत बनाउन बुद्धिजीवीलाई आग्रह गर्नुभएको छ ।

नेपाल बुद्धिजीवी संगठनले आइतबार ललितपुरमा आयोजना गरेको बेल्ट एण्ड रोड ईनिसियटिभ छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले बौद्धिक तरिकाले जनमत बनाउन सके मात्र उपयुक्त समाधान निस्कन सक्ने वताउनुभयो ।

सरकारका तर्फबाट पछिल्लो समय भएका सहमति र समझौताले भारत र चीन सँगको नेपालको सम्वन्धलाई नयाँ उचाईमा पुर्याएको पनि अध्यक्ष प्रचण्डले उल्लेख गर्नु भयो ।
भू–राजनीतिका कारण पनि नेपालको सबै देशहरुसँगको विदेश नीति असंग्लन र स्वतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बिआरआई परियोजनामा नेपालका सबै राजनीतिक दलहरुको धारण एकै हुनु सकारात्मक रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बिआरआईले लिएको उद्देश्य नेपालको हितमा हुने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा परारष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बिआरआईले बोकेका विभिन्न उद्देश्य नेपालका लागि विकासको ढोका खोल्ने भएकाले नेपालले यस बृहत परियोजनामा सहमति जनाएको बताउनुभयो ।

बिआरआई परियोजना अन्तर्गत नेपालले छनौट गर्न सक्ने विभिन्न योजनाहरु रहेकाले नेपालको आवश्यकता, प्राथामिकता र राष्ट्रहितका योजना छनौट गरिने भएकाले परियोजना नेपालका लागि ऋणको भारी हुन्छ कि भन्ने टिप्पणी सान्दर्भिक नहुने पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले बिआरआईप्रति नेपाली काँग्रेसले पनि सहमति जनाएकाले परियोजना नेपालको हितमा हुने बताउनुभयो ।

नेकपाका नेता अग्नि सापकोटाले नेपालमा बिआरआई परियोजना शक्तिशाली संयन्त्र बनाएर अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल बुद्धिजीवी संगठनका संयोजक दिनेशचन्द्र देवकोटाले बिआरआईले नेपालको विकासमा नयाँ आयाम थप्ने बताउनुभयो ।

नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बिआरआई परियोजना अघि बढदा नेपालको निजी क्षेत्रलाई समेत फाईदा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button