तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा खुला दिशामुक्त जिल्ला घोषणा

बीरगंज– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लालाई ७० औं जिल्लाको रुपमा आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले वीरगंजको टाउन हलमा आयोजित एक कार्यक्रमका बिच पर्सा जिल्लालाई खुला दिसामुक्त जिल्ला भएको घोषणा गर्नु भएको हो ।

सो अवसरमा उहाँले सोच र चेतनाको अभावको कारण अर्काको मुख ताक्ने प्रवृति हुँदा प्रदेश नम्बर २ खुला दिशामुक्त हुन समय लागेको भन्दैे दुःख प्रकट गर्नुभयो । उहाँले अझै बीरगंज तथा पर्सा जिल्लाका अधिकांश दलित बस्तीहरुमा शौचालय बनाउन नसक्नेको संख्या उल्लेख्य रहेको र उनीहरुलाई सार्वजनिक सौचालयको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनुभयो । मुख्यमन्त्री राउतले सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले पत्रचार गरेमा प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत सार्वजनिक शौचालयन निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंज महानगरपालिकाको घण्टाघर बाहेक अन्य स्थानमा सार्वजनिक शौचालय नभएको र वीरगंजको माईस्थान, आदर्शनगर, नगवा, श्रीपुर लगायतका स्थानमा सार्वजनिक शौचालय बनाउनु पर्ने कुरामा जोड दिनुभयो । सांसद यादवले खुला दिशामुक्त जिल्ला र महानगरपालिका घोषणा गरेर मात्र नहुने बताउदै कानुन बनाएरै भए पनि स्थानिय तहले खुला स्थानमा दिशापिसाब गर्नेलाई कारवाही गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक एवं जिल्ला विकास समिति पर्साका सभापति नेक महमद अन्सारी, बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदहरु, प्रदेश सभा सदस्यहरु, पर्सा जिल्लाका १४ वटा स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यस अघि जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा वीरगन्जमा चेतना मुलक र्याली निकालेको थियो । डिवासिसीका अध्यक्ष एवम जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारी र वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीको नेतृत्वमा निस्केको र्याली नगर परिक्रमा पछि नगर सभा गृहमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।

पर्सा जिल्लाको अभिभाारा, खुल्ला दिशामुक्त गांउ, सहर सारा नारा सहित निकालिएको र्यालीमा नगरपालिकाका प्रमुख, गांउपालिकाका अध्यक्ष, स्थानिय प्रहरी प्रशासनका प्रमुख, कर्मचारी, स्वयमसेवक लगायतको सहभागिता रहेको थियो ।

पर्सा जिल्लामा ५७ हजार ९ सय ४८ घर धुरी रहेको र ६ लाख ३० हजार जनसंख्या रहेकोमा हाल ७३ हजार ७ सय ४३ वटा शौचालय निर्माण भई संचालनमा आएको कार्यक्रममा जानकारी गराईएको थियो । पर्सामा ८२ प्रतिशत भन्दा बढी घरमा शौचालय निर्माण भई सकेको हुँदा जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button