तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारहरुको दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाम– प्रेस काउन्सिल नेपालको आयोजनामा श्रमजीवि पत्रकार सम्बन्धी कानूनी व्यवस्था, साहित्यिक पत्रकारिता एवं स्थानीय सञ्चार माध्यमको अवस्था विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका आठै जिल्लाका पत्रकारहरुले प्रेस काउन्सीलले सञ्चार जगतका लागि सच्चा अभिभावकको भूमिका खेल्नु पर्ने आवश्यकतामा जोड दिदैे पत्र–पत्रिकाको वर्गिकरणमा हुने गरेको भेदभावको अन्त्य गरिनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँहरुले हुवहुको नाउँमा अहिले पत्रपत्रिकालाई आतंकित बनाउने कामकाज काउन्सिलबाट भएको बताउदै वर्गिकरणमा हुने गरेको काखापाखाको अन्त्य हुनु पर्ने धारणा राख्नु भएको थियो ।

पत्रकारहरुले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन जिल्ला स्तरमा हुन नसकेको बताउँदै अहिले पनि जिल्लाहरुमा पत्रकारहरुको शोषण गर्ने कामकाज मिडियाका सञ्चालकबाट भैरहेको बताउनुभयो । उहाँहरु मिडियाको पुर्नसंरचना गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउँदै सक्षम तथा योग्य पत्रकारहरुको अभाव जिल्ला जिल्लामा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले अब सरकारको वर्गिकरणको मुख ताक्नुको साटो मिडियाहरु आफै बाँच्ने उपायहरुको खोजी गर्नु पर्ने बताउँदै जिल्ला–जिल्लामा समानुपतिक विज्ञापन उपलब्ध गराउनका लागि महासंघले अगुवाई गर्ने बताउनुभयो ।

बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले नेपालको पत्रकारिता क्षेत्रमा चाकडी तथा चाप्लुसि गर्ने तथा ठूला बडाको पछाडी लाग्ने प्रबृत्ति बढ्दै जानु स्वतन्त्र पत्रकारिताको लागि सुखद अवस्था नभएको बताउनुभयो ।
नेपाल प्रेस काउन्सीलका सदस्य ईश्वरी ओझाले जिल्ला तहमा भएको पत्रकारहरुको समस्याको समाधान गर्नका लागि विचार संकलन गर्नका लागि कार्यक्रम गरेको बताउदै काउन्सील भित्रको कमी कमजोरी हटाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नंं २ का अध्यक्ष दिपेन्द्र चौहानले पत्रकारिता क्षेत्रको शुद्धिकरणका लागि प्रदेश महासंघ अगुवाई गर्नका लागि तयार भएको बताउनुभयो ।

प्रेस काउन्सील नेपालका सदस्य नवल किशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रमजीवि पत्रकारहरुको अवस्थाका वारेमा पत्रकार अवधेश झाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने आठै जिल्लाका शाखाहरुको तर्फवाट शाखा पदाधिकारीहरुले जिल्लामा पत्रकारिता क्षेत्रको अवस्था, चुनौति तथा समाधानको उपायहरुको बारेमा जानकारी सहितको विचार राखेका थिए ।

शाखाहरुले प्रस्तुत गरेको विचार तथा कार्यपत्रहरु माथि एकीकृत रुपमा रेडियो नेपालका सम्वाददाता पत्रकार अजय कुमार झाले टिप्पणी गर्नु हुदै नेपालको भूगोल, जनसंख्या तथा आर्थिक स्थिति तथा सामाजिक बनोटको आधारमा समग्र मिडिया क्षेत्रको पुर्नसंरचना गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button