तपाईँ सुन्दै हुनुहुन्छः

टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान झर्यो

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा पुगेको छ ।

अघिल्लो वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीको वरियता बढेपछि नेपाल एक स्थान तल झरेको हो  ।

नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो ।

एसोसियट राष्ट्रको टी-ट्वान्टी वरियतामा नेपाल चौंथो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।

महिलाको टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।

नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ दुई स्थान झर्दै ५९ औं स्थानमा रहेकी छिन् ।  ब्याटिङतर्फ सिता ८५ औं स्थान रहेकी छिन् ।

बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९० औं स्थानमा झरेकी छिन् । बलिङतर्फ भने सिता शीर्ष १०० बाट बाहिरिएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button