तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा म्याद गुज्रेका सामान विक्री वितरण हुन थालेपछि बजार अनुगमन शुरु

कपिलवस्तु – दैनिक उपभोग्य वस्तुमा स्वच्छता तथा गुणस्तर कायम राख्न चाडपर्वका समयमा कपिलवस्तुमा बजार अनुगमन शुरु भएको छ । अखाद्य तथा गुणस्तरहिन उपभोग्य बस्तुको विक्री वितरणमा नियन्त्रण गर्न चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको हो ।

पछिल्लो समय बजारमा म्याद गुज्रेका सामानहरुको खुलेयाम विक्री वितरण हुन थालेपछि सम्वन्धित निकायबाट बजार अनुगमन शुरु भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ ।

चाडपर्वका बेला जनताले उपभोग गर्ने दैनिक खाद्य बस्तुहरु म्याद गुजे्रका र तोकिएको मूल्य भन्दा बढि मूल्यमा विक्री वितरण गरेको बजार अनुगमनमा पाइएको छ । शुक्रबार जिल्लाको चन्द्रौटा बजार अनुगमनका क्रममा पसलहरुमा कुकिज विस्कुट, फेन्टा, स्लाइस, किटक्याट, बदाम र गरम मसाला जस्ता म्याद गुज्रेका सामान भेटिएपछि नष्ट गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु, इलाका प्रशासन कार्यालय चन्द्रौटा, शिवराज नगरपालिकाको संयुक्त अनुगमन टोलीलले १६ वटा पसलहरुमा अनुगमन गरेको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले पसल तथा होटलहरुको सरसफाई, समानको उपयुक्त भण्डारण, व्यवसाय नविकरण, मूल्यसूची राख्दै एमआरपि मूल्य भन्दा बढिमा विक्री नगर्न निर्देशन दिनु भएको छ । उहाँले बजार अनुगमनमा देखिएका कमजोरीहरु हटाएर १५ दिन भित्र व्यवसायीले सुधार गरेको लिखित जानकारी कार्यालयलाई गराउन पनि अनुरोध गरिएको बताउनुभयो । उपभोक्ताहरु ठगिन नपरोस्, गुणस्तरिय उपभोग्य बस्तुको विक्री वितरण र सर्वसुलभ मुल्यमा विक्री वितरण गर्नुपर्ने अनुगमन टोलीले बताएको छ ।

यसैवीच प्रदेश ५ सरकारले चाडपर्वको समयमा जनतालाई उपभोग्य बस्तुमा गुणस्तरियता र मुल्यमा सहजता कायम राख्ने बिषयमा विभिन्न निकायसंग आवश्यक समन्वय र सहकार्य गरिसेकेको छ । मन्त्रालयले बजारको नियमित अनुगमन, चाडपर्व लक्षित सुपथ पसलहरुको संचालनमा जोड दिदै सहज आपूर्तिको व्यवस्था मिलाउने योजना निर्माण समेत गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button