२०७८ साल साउन १८ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियत पसलबाट सकारात्मक प्रभावः उद्योगमन्त्री यादव

रेडियो नेपाल २०७६ भदौ २७ गते १९:४३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले दशैं, तिहार र छठ पर्वका लागि सञ्चालनमा ल्याइएका सहुलियत मूल्यका पसलहरुबाट बजारमा उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्य बढ्न नदिन सकारात्मक प्रभाव परेको बताउनुभएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ औं वार्षिकोत्सव समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री यादवले वाणिज्य विभाग, साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायतका सम्बद्ध सबैको सहयोगमा बजारलाई व्यवस्थित गरिने बताउनुभयो ।

मन्त्री यादवले सरकारले नूनको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति नदिएको स्पष्ट गर्दै वस्तु तथा सामग्रीको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले साल्ट ट्रेडिङ कर्पोरेशनले बजार नियमनमा सघाउनुका साथै उपभोग्य वस्तुहरुको मूल्य बृद्धि हुन नदिन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले दशैं, तिहार र छठ पर्वका लागि सबै प्रदेशमा गरी ७३ स्थानमा सहुलियत मूल्यका पसल संचालनमा ल्याइएको र प्रदेश तथा स्थानीय तहको सहकार्यमा अन्य स्थानमा पनि सहुलियत मूल्यका पसल विस्तार गरिने जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर र प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति निर्देशन बमोजिम कर्पोरेशनले नून, चिनी लगायतका गुणस्तरीय उपभोग्य वस्तुहरुका साथै उपयोगी सेवाहरु सर्वसुलभ रुपमा आम उपभोक्तालाई उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सम्बन्धित