तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ बङ्गलादेशको ढाकामा हुने

काठमाडौँ। दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ बङ्गलादेशको ढाकामा हुने भएको छ । क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलन आगामी असोज १ र २ गते सञ्चालन हुनेछ ।

ग्लोबल युथ पार्लियामेण्टद्वारा आयोजित सो सम्मेलनमा नेपालसहित श्रीलङ्का, पाकिस्तान र भारतलगायत दक्षिण एशियाली मुलुकबाट युवा प्रतिनिधिहरुको सहभागिता रहनेछ । सम्मेलनमा दक्षिण एशियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय युवाहरुलाई सम्मान गर्नुका साथै युवाहरुको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायतका विषयमा बृहत् छलफल हुने र अन्तिम दिन ढाका घोषणापत्र जारी गरिने ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दीवाकर अर्यालले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न देशका करीब ३०० युवाहरुको सहभागिता रहनेछ ।

सम्मेलनको संयोजन बङ्गलादेशको ग्लोबल ल थिङ्कर सोसाइटीले गरेको छ । पहिलो दक्षिण एशियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भइसकेको छ भने तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा सम्पन्न गरिने भएको छ । युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ । ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button