तपाईँ सुन्दै हुनुहुन्छः

मारवाडी महिलाको सक्रियतामा भद्रपुरमा दशैं मिनी बजार

भद्रपुर, झापा – नजिकिँदै गरेको दशैं पर्वलाई लक्षित गर्दै झापाको सबैभन्दा पुरानो नगर भद्रपुरका मारवाडी महिलाले दशैं मिनी बजार सञ्चालनमा ल्याएका छन् ।

मारवाडी महिला मञ्च भद्रपुरको आयोजनामा भद्रपुर–६को सिटी गार्डनमा दशैं मिनी बजार सञ्चालन गरिएको हो ।

बुधबारसम्म चलेको तीनदिने दशैं मिनी बजारमा १० लाखभन्दा बढीको कारोबार भएको आयोजक मञ्चकी अध्यक्ष निक्की साहेवालाले जानकारी दिनुभयो ।

सोमबार एक समारोहका बीच राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशी, प्रदेश नं १ का प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा मिनी बजारको उद्घाटन गर्नुभएको थियो ।

मिनीबजारमा लताकपडा, खाद्यान्न, ढाकाका घरेलु उत्पादन, कस्मेटिक सामग्री, बालबच्चाका खेलौनाका सामग्रीलगायतका २० वटाभन्दा बढी स्टल रहेका थिए । मञ्चले सोही ठाउँमा गत वर्ष पनि दशैंको अवसरमा मिनी बजार लगाएको थियो ।

यो बजारमा अन्यबजारमा भन्दा उपभोक्ताले केही सस्तोमा सामग्री खरिद गर्न पाएको उपभोक्ता भाष्कर शर्माले बताउनुभयो ।

उद्योग–व्यवसायजन्य संघ–संगठनले उपभोक्तालक्षित बजार सञ्चालन गर्न तदारुकता नदेखाइरहेको बेला सामाजिक संस्थामा आबद्ध मारवाडी महिलाले गरेको यो प्रयासको सराहना गरिएको छ ।

राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशीले भद्रपुरका मारवाडी महिलाले प्रशंसनीय काम गरेको प्रतिक्रिया दिनुभएको छ । प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले सुस्ताउँदै गएको भद्रपुरको बजारलाई उकास्न यस्तोखाले बजारले सहयोग पुर्याउने बताउनु भयो भने भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठले उद्योगी–व्यवसायीका संघ संगठनले पनि पर्वलक्षित बजार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button