तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा। प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असाहय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील रहेको छ ।

मुख्यमन्त्री पौडेलले स्थनीय तहको न्यायिक समितिलाई सहयोग गर्न तथा उपेक्षित, उत्पीडित र शोषित वर्ग एंव समुदायको सहायताका लागि कानूनी सहजकर्ता खटाइएको बताउँदै स्थानीय तहलाई सबल, सुदृढ र सक्षम बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नवनियुक्त कानूनी सहजकर्तालाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिदैं भ्रष्टाचारप्रति प्रदेश सरकार कठोर रहेको हुँदा सहजकर्ताबाट अनियमितता भएको देखिएमा तत्काल कारवाही गरिने बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले विधिको शासन सञ्चालनका लागि नवनियुक्त सहजकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

तालीममा काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, रसुवा र सिन्धुपाल्चोकका ५९ स्थानीय तहका लागि नियुक्त कानूनी सहजकर्ता, प्रदेशका ६ वटै जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुख र सबै स्थानीय तहका उपप्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button