तपाईँ सुन्दै हुनुहुन्छः

सहकर्मी कुटपिट गर्ने वडा अध्यक्ष सदरमुकामबाट पक्राउ

ओखलढुंगा २४ भाद्र : आफ्नै सहकर्मी कुटेको आरोपमा ओखलढुंगाका एक वडा अध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गरेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइटेललाई प्रहरीले पक्राउ गरेको हो ।

लुइटेलले चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई गत असार ३० गते कुटपिट गरेका थिए । थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए ।

उजुरीपछि वडा अध्यक्ष लुइटेल गाउँमा हुनुहुन्नथ्यो । प्रहरीको सम्पर्कमा समेत नआउनु भएको भनिएका लुईटेललाई आइबार साँझ जिल्ला सदरमुकामबाटै प्रहरीले पक्राउ गरेको हो । पटक–पटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । लुइटेल विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कुसरमा मुद्दा दर्ता भएको छ ।
आफुलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफुमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मी विरुद्ध उजुरी गरेको पीडित थापाले बताउनुभयो । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधीले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानुनी उपचार खोजेको उहाँको भनाई छ ।

कुटपिटको आरोप लागेका वडा अध्यक्ष लुइटेलले आफुले नकुटेको बताउँदै आउनु भएको थियो । त्यसक्रममा स्थाानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड प्रहरीमा बुझाएका थिए । अडियोमा लुइटेलले थापालाई कुटेको र अरु दुई कर्मचारी प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई आफुले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।

लुइटेल कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन भने थापा नेकपाका जिल्ला सदस्य हुन । अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेट लगायतका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । थापा र लुइटेलबीच गाउँपालिकाका योजना लगायतका विषयमा विवाद हुने गरेको थियो ।

उँपालिकाका स्थानीयले पनि जनप्रतिनिधि बिचको विवादले विकास प्रभावित भएको भन्दै आपत्ति जनाएका छन् । विलन्दुमा भएको सार्वजनिक सुनुवाईका अधिकांश सहभागीले जनप्रतिनिधि बिचको विवादले आफुहरुको शिर झुकेको भन्दै खबरदारी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button