तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा पनि ५ जना डेङ्गु प्रभावित

 

कञ्चनपुर/ एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ ।

वेदकोटका तीन जनाको निकटवर्ती भारतीय निजी अस्पताल र कृष्णपुरका एक जनाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको निरीक्षक जोशीले बताउनुभयो । एक जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

शहरी क्षेत्रमा मात्रै बढी देखिने डेङ्गु ग्रामीण क्षेत्रमा देखिन थालेको उहाँले बताउनुभयो । भारतबाट काम गरी फर्केकामा डेङ्गुको सङ्क्रमण बढी देखिएको छ ।

“डेङ्गुको भाइरस सार्ने लामखुट्टेले सफा पानी रहने टयाङ्की, गाग्रो, दहीको कतारो, बाल्टीन ड्रम, गमला, टायरमा जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले त्यस्तो पानी फाल्ने र पानी जम्ने खाल्टा खुल्टी पुर्नेलगायतका कार्य गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मल्हमको प्रयोग गर्ने, राति र दिउँसो झुल भित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्टाखुल्टीमा पानी जम्न नदिने र झ्याल ढोकामा जालीको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी माधवानन्द भट्टले बताउनुभयो ।

देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप बढ्न थालेकाले सबै सचेत हुनुपर्ने उहाँको सुझाव रहेको छ । डेङ्गु भएमा एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुनेलगायतका लक्षणहरु देखा पर्ने गरेका छन् ।

यसैगरी, केही बिरामीमा शुरुमै शरीरभरी खटिरा आउने, ज्वरो आइरहेका बेला नाक तथा गिजाबाट रक्तश्राव हुने, छालामुनी रक्त श्राव हुनेलगायतका लक्षण देखा पर्न सक्छन् । डेङ्गु ज्वरो भाइरसको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार र खोप छैन । बिरामीमा देखिएका लक्षणका आधारमा उपचार हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा यस वर्षको अहिलेसम्म २० जना डेङ्गुका बिरामी फेला परेको निरीक्षक जोशीको भनाइ छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले राखेको तथ्याङ्कअनुसार सन् २०१७ मा डेङ्गुका एक बिरामी फेला परेका थिए । सन् २०१८ मा सात जना बिरामीमा डेङ्गुको भाइसरको सङ्क्रमण भएको पाइएको थियो । सङ्क्रमण भएका सबै भारतमा काम गरेर फर्केका व्यक्ति थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button