तपाईँ सुन्दै हुनुहुन्छः

दुव्र्यसनी पहिचानमा ‘किट’ प्रभावकारी

बागलुङ-लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु लागुपदार्थ सेवन नगरेको भनेर ढाँटे । प्रहरीले अभिभावककै अघि राखेर केरकार गर्दा पनि लागुऔषध प्रयोग गरेको स्वीकार गर्न उनीहरु तयार देखिएनन् ।

प्रहरीले तत्कालै ‘टेस्ट कीट’ प्रयोग गरेर लागुपदार्थ सेवन (लापसे) गरे÷नगरेको जाँच ग¥यो । दुवैले गाँजा र सुईंको माध्यमबाट लागुऔषध सेवन गर्ने गरेको पत्ता लाग्यो । जाँचपछि बल्ल कहिलेकाहीँ चुरोट र गाँजा सेवन गर्ने गरेको दुवैले स्वीकार गरे । सेवनसँगै बेचबिखनमा पनि संलग्न भएको आशङ्कामा प्रहरीले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यसरी ‘कीट’ को प्रयोग गरेर प्रहरीले (लापसे) जाँच शुरु गरेपछि अभिभावक, प्रहरीलाई ढाँट्ने, उम्कन खोज्ने, लुकिछिपी लागुऔषध सेवन गर्ने दुव्र्यसनीको सजिलै पहिचान हुन थालेको हो । प्रहरीले एक महीनाअघि जिल्लामै पहिलोपटक (लापसे) चेकजाँच शुरु गरेको थियो । हालसम्म ३० जनामा (लापसे) जाँच गरिएको जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

सोमध्ये २८ जनाले नियमित लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । प्रहरीले सामान्य गाँजामात्र सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउने गरेको छ । सुईंबाटसमेत लागुऔषध सेवन गर्ने र लामो समयदेखि दुव्र्यसनमा फसेकालाई सुधारगृहमा पठाउने गरिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा भेटिएका शङ्कास्पद व्यक्तिको (लापसे) जाँच गर्ने गरेको छ ।

लागुपदार्थ सेवन गरे÷नगरेको पत्ता लगाउन सम्बन्धित व्यक्तिको पिसाबलाई ‘टेस्ट कीट’ मा राखेर जाँच्ने गरिन्छ । गर्भ परीक्षणको जस्तै देखिने ‘कीट’ मा पिसाब राख्दा लागुऔषध प्रयोग गरेको भए ‘पोजेटिभ’ र नभए ‘नेगेटिभ’ देखाउँछ । उक्त परीक्षणबाट एक महीनाअघि सेवन गरेको भए पनि पत्ता लाग्ने प्रहरीको भनाइ छ । ‘टेस्ट कीट’ बापतको रु ५०० प्रयोगकर्ताकै अभिभावकबाट लिने गरिएको छ ।

कमजोर आर्थिक अवस्था भएका अभिभावक र लागुऔषध प्रयोग नगरेको पाइएमा भने शुल्क लिने गरिएको छैन । ‘टेस्ट कीट’को माध्यमबाट प्रयोगकर्ताले कुन लागुऔषध सेवन गरेको छ भन्ने थाहा पाउन सकिन्छ ।

शङ्कास्पद सवारी चालकमा पनि (लापसे) चेकजाँच गर्ने गरिएको छ । ‘टेस्ट कीट’ महँगो पर्ने भएकाले आर्थिक स्रोत व्यवस्थापनमा चुनौती रहेको प्रहरीको भनाइ छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीसँग साझेदारीमा काम गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button