तपाईँ सुन्दै हुनुहुन्छः

सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध

भद्रपुर-पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् ।

उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन् ।

प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनको बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताउनुभयो ।

उहाँले केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको बताउनुभयो । पूर्व यातायात व्यवसायीसमेत रहनुभएका मैनालीले नेपालमा धेरै गाडी व्यवसायी भए पनि भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस सेवाले राजश्वमा समेत प्रभाव पर्ने विचार राख्नुभयो । झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन प्रवद्र्धनमा सहयोग नपुग्ने बताउँदै पूर्वीमा असर पुग्ने बताउनुभयो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सो बसको सीमानाकामा सामान्य चेकजाँच गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button