तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल चीन द्विपक्षीय वार्ता आज

काठमाडौँ– चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा हिजो साँझ विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गर्नुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो । चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने उहाँको कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने आज उहाँको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुनेछ । पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताइएको छ । अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार वार्तापछि शिक्षा तथा स्वाथ्य क्षेत्रमा सहयोग गर्नेसम्बन्धी विनिमयपत्र ‘लेटर अफ एक्सचेञ्ज’ मा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button